क्षयरोग मुक्त बनाउन मेचीनगरको ‘मास्टर प्लान’


मेचीनगर । ‘हो ! हामी क्षयरोग अन्त्य गछौं’ भन्ने मुख्य नारासहित झापाको मेचीनगर नगरपालिका यतिखेर क्षयरोगमुक्त पालिका घोषणा गर्ने अभियानमा तदारुकताका साथ लागि परेको छ । २०७८ चैत्रबाट सुरु भएको यो अभियान अहिले नगरका सबै क्षेत्रमा क्षयरोगका नयाँ रोगी खोजी गर्ने र रोगको पहिचान भए उपचारको दायरामा ल्याउने काममा केन्द्रित रहेको छ ।

त्यस्तै, क्षयरोगका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने, घरधुरी सर्वेक्षण गर्ने, शंका लागे परीक्षण गर्ने, वडास्तरमा सुक्ष्म योजना बनाएर गाउँमा स्वास्थ्यकर्मी परिचालन लगायतका कार्य गरिरहेको छ । शकांस्पद व्यक्तिहरुको खकार जाँच गरेर क्षयरोग पुष्टि भए उनीहरुलाई दैनिक रुपमा ६ महिना औषधी सेवन गराइन्छ । त्यसपछि खकार परीक्षण गर्दा रोग देखिएन भने त्यस्ता व्यक्तिलाई क्षयरोग मुक्त भएको घोषणा गर्ने वैधानिक व्यवस्था छ ।

जुन रोगीलाई ६ महिना नियमित औषधी सेवन गर्दा पनि खकार परीक्षणबाट क्षयरोग देखियो भने त्यस्ता रोगीहरुलाई थप उपचारका लागि आवश्यकता अनुसार औषधी सेवन गराउने फोकल पर्सन सदिक्षा भट्टराईले बताउनु भयो । उहाँका अनुसार ब्यक्तिको रोगको अवस्था हेरेर ६ महिनादेखि दुई बर्षसम्म क्षयरोगको औषधी नियमित सेवन गर्नु पर्नेछ ।

अभियानका लागि सञ्चालित कार्यक्रमहरु प्रभावकारी देखिएका छन् । जसको कारण गत बर्षको तुलनामा क्षयरोगीको संख्या कम देखिएको छ । गत आर्थिक बर्ष २०७९/०८० मा नगरमा २०५ जना क्षयरोगी फेला परेका थिए । यो बर्षको जेठ मसान्त सम्ममा १ सय ८४ जना क्षयरोगी भेटिएका छन् । वैशाख र जेठ दुई महिनाको समयमा ३६ जना क्षयरोगका नयाँ बिरामी थपिएको नगरको स्वास्थ्य शाखाले जनाएको छ । चैत मसान्त सम्मको सर्वेक्षणमा नगरमा १ सय ४८ क्षयरोगका बिरामी रहेको पाइएको थियो ।

यो बर्ष नयाँ क्षयरोगीको संख्या घट्ने क्रममा रहनुको कारण नगरले रोगीहरुलाई खोजी गरी छिट्टै उपचारमा जोड्नु रहेको मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौला बताउनु हुन्छ । “हामीले वडा स्तरमा वडाध्यक्षहरुको संयोजकत्वमा वडा समिति गठन गरेका छौ”, सापकोटाले भन्नुभयो “वडा स्तरमा सुक्ष्म योजना बनाएर काम गरिरहेका छौं ।”

अभियान सुरु हुँदै गर्दा नगरलाई क्षयरोगीको पहिचान गर्न नै मुस्किल थियो । लक्षण देखिएकाले क्षयरोग जचाउन नचाहने, पत्ता लागेका बिमारीले पनि लुकाउने, औषधी खान नमान्ने, बीचमै औषधी छोड्ने लगायतका समस्याहरु निक्कै थिए । तर, अहिले यो क्रममा कमी आएको छ । नियमित रेखदेख र उत्प्रेरणाका कारण धेरै क्षयरोगीहरुमा औषधी नियमित सेवन गर्नपर्छ भन्ने भावनाको विकास गराउन नगरपालिका सफल भएको सापकोटाले बताउनु भयो ।

यति भनिरहँदा क्षयरोगमुक्त अभियान सफल बनाउन चुनौती नै नभएको चाहिँ हैन । अझै पनि समुदायमा क्षयरोगप्रतिको परम्परागत नकारात्मक सोचाइ कायमै छ । क्षयरोग भन्ने बितिकै जचाउन नमान्ने, शंकास्पद व्यक्तिहरुले खकार दिन नै नमान्ने, उपचार सुरु गरेकाहरुले औषधी नियमित नखाने लगायतका चुनौती त छन् नै, त्यसमाथि ठुलो नगर भएका कारण काम गर्ने जनशक्ति पनि कम हुँदा समस्या भएको छ । वडामा रहेका स्वास्थ्यकर्मी तथा स्वयम्सेविकाहरुले पनि निक्कै मेहनतका साथ यो अभियानमा काम गरिरहनुभएको छ ।

 

अर्को मुख्य चुनौती भनेको जनचेतनाको कमी हो । औषधी नियमित खाँदा ६ महिनामा यो रोग निको हुन्छ, औषधी सेवन गर्न थालेपछि एकबाट अर्कोमा सर्न सक्दैन भन्ने कुराको जानकारी आम समुदायलाई नहुँदा क्षयरोगी सामाजिक तथा पारिवारिक तिरस्कारमा पनि परिरहेका छन् । चिकित्सकको नियमित सम्पर्कमा बसेर ६ महिना औषधी सेवन गर्दा क्षयरोग पूर्णरुपमा निको हुने हुन्छ । तर, ६ महिनासम्म दैनिक स्वास्थ्य संस्था गएर स्वास्थ्यकर्मीकै निगरानीमा औषधी सेवन गर्न क्षयरोगीलाई पनि समस्यै छ । विपन्न वर्गकालाई त पोषक तत्वले भरिपूर्ण भएको आहार जुटाउन पनि धौधौ नै छ । हुन त औषधी सबै निःशुल्क छ, मेचीनगरका क्षयरोगीहरुका लागि छातीको एक्सरे समेत नगरपालिकाले निःशुल्क रुपमा गरिरहेको छ । तर, क्षयरोगीहरुलाई अझै धेरै सहयोग र साथको खाँचो रहेको मेचीनगरकी क्षयरोग फोकल पर्सन सदीक्षा भट्टराई बताउनुहुन्छ ।

क्षयरोगमुक्त पालिका घोषणा गर्ने अभियानमा जुटेको झापाको मेचीनगर नगरपालिकाले क्षयरोगका बिरामीहरुलाई लक्षित गरि पोषणयुक्त खाद्य सामाग्री पनि वितरण गर्ने गरेको छ । पोषण प्याकेजमा २५ किलोको एक बोरा चामल, एक क्यारेट अण्डा, बदाम, दाल र सातु एक किलो, एक लिटर खाने तेल उपलब्ध गराउँदै आएको छ ।

 

नगरपालिकाले क्षयरोगीका लागि मात्रै नभएर उनीहरुको परिवारमा रहेका ५ बर्ष मुनिका बालबालिकालाई लक्षित गरेर क्षयरोग प्रतिरोधात्मक औषधीको सेवन गराउने कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । क्षयरोग भएका परिवारहरुको ५ बर्ष मुनिका स्वस्थ बालबालिकाहरुलाई भविष्यमा क्षयरोग नदेखियोस् भन्नका लागि औषधी सेवन गराउने गरिएको नगर स्वास्थ शाखाले जनाएको छ । अहिले २६ परिवारका १३ स्वस्थ बालबालिकाले यो औषधी सेवन गरिरहेका छन् ।

नगरले क्षयरोग मुक्त पालिका अभियानका लागि अर्थिक वर्ष २०८९/८० मा ८ लाख तथा चालु आर्थिक बर्ष २०८०/८१ का लागि ५ लाख बजेट छुट्याएको थियो । त्यस्तै, नगरले आगामी आर्थिक बर्षमा पनि यो अभियानका लागि ५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

नेपाल सरकारले २०७५/७६ मा पहिलो पटक गरेको क्षयरोग प्रेभलेन्स सर्वेक्षणको नतिजाले नेपालमा बार्षिक ६९ हजार नयाँ क्षयरोगी थपिने देखाएको थियो । नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोगको अन्त्य र सन् २०५० सम्ममा पूर्ण निवारणको लक्ष्य लिएकोे छ । सोही लक्ष्य अनुरुप मेचीनगरमा पनि क्षयरोगमुक्त पालिका अभियान सञ्चालन भइरहेको हो ।

क्षयरोग आधुनिक संसारको सामान्य रोग सावित भइसकेको छ । तर पनि परम्परागत अन्धविश्वास व्याप्त हाम्रो समाजमा क्षयरोगको उपचारका बारेमा थुप्रै भ्रमहरु अहिले पनि कायम नै छ । तसर्थ, क्षयरोगलाई जरैदेखि निर्मूल पार्न नगरपालिकाले सञ्चालन गरेको अभियानमा आम नगरबासी र सरोकारवालाहरुले समेत मनदेखि सहयोग गर्नु अति आवश्यक भइसकेको देखिन्छ ।

।। मनिसा गौतम ।।