विहीबारसम्म वर्षा, झापा ‘रेड अलर्ट’ मा


झापा । मनसुन सक्रिय हुँदै गएकाले भारी वर्षाबाट झापासहित ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा रेड अलर्ट जारी गरेको हो ।

यसैगरी २६ जिल्लामा मध्यम जोखिमको सम्भावनाको संकेत स्वरुप यलो अलर्ट जारी गरेको छ । रेड अलर्टले अति जोखिम र यलो अलर्टले मध्यम जोखिमको संकेत गर्दछन् ।

अति जोखिम (रेड अलर्ट) भनेर संकेत गरिएका जिल्लाहरुमा कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा छन् ।

बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा, गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र लमजुङ जिल्लामा रेड अलर्ट जारी भएको छ ।

यस्तै, लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्व पनि अति जोखिमको संकेत स्वरुप रेड अलर्टको सूचीमा परेका छन् ।

सो न्यून चापिय रेखा आगामी केही दिन नेपालको दक्षिण भूभाग आसपास रहने र मनसुन थप सक्रिय हुने सम्भावना रहेको भन्दै विभागले फेरि असार १७ गतेदेखि २० गतेसम्म सतर्कताको सूचना जारी गरेको छ ।

विभागका मौसमविदहरुका अनुसार असार १७ गते सोमबारदेखि असार २० गते विहीबारसम्म पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।