झापामा ३ लाख बढी बालबालिकालाई दादुरा–रुवेला खोप लगाइँदै
मेचीनगर । झापामा ३ लाख १४ हजार ४१२ जना बालबालिकालाई दादुरा रुवेला खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय झापाले चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा एक कार्यक्रम आयोजनागरी खोप अभियानको बारेमा जानकारी दिएको हो ।
झापामा फागुन १७ गतेदेखि चैत ४ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिए । उनले झापामा ३ लाख १४ हजार ४१२ जना बालबालिकालाई ९४७ खोपकेन्द्रबाट खोप दिने तयारी गरिएको बताए । स्वास्थ्य कार्यालयले खोप अभियान सफल पार्न ३७९ जना खोपकर्मी र १ हजार ७१७ जना स्वास्थ्य स्वयम्सेवीका परिचालन गरेको छ ।
स्वास्थ्य कार्यालयले विद्यालयलाई नै खोप केन्द्र निर्धारण गरेको छ । यस अघि ५ वर्ष मुनिका बालबालिकालाई रुवेला खोप लगाउँदै आएको भएपनि यस पटक ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा–रुवेला खोप दिने अभियान सुरु गरेको छ । स्वास्थ्य कार्यालयलले यसअघि खोप लगाएका र लगाउन छुटेका सबै बालबालिकाले खोप लगाउनु पर्ने जनाएको छ ।
२०२४ सम्ममा नेपाललाई दादुरा मुक्त बनाउने सरकारको लक्ष्य अनुरुप खोप कार्यक्रम सञ्चलन गरिएको बताउँदै उनले भने, ‘२०२४ पछि दादुरा विरुद्धको खोप अभियानमा विदेशी सहयोग बन्द हुनसक्छ, त्यसबेलासम्म नेपाललाई दादुरा मुक्त बनाउने लक्ष्य सरकारको रहेको छ ।’
सो अवसरमा स्वास्थ्य कार्यालय झापाका प्रवक्ता एवम् खोप अधिकृत राजकुमार पोख्रेलले झापामा ८ जनामा दादुरा संक्रमण भेटिएको बताए । ‘झापा दादुरा मुक्त छ भन्ने सोचेका थियौं,’ पोख्रेलले भने, ‘यहाँ पनि संक्रमण भेटियो । यसलाई निर्मुल पार्न खोप लगाउनुको विकल्प छैन ।’
उनले विर्तामोडमा १ जना, दमकमा १ जना र झापा गाउँपालिकामा ६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । लक्षित उमेरका बालबालिकालाई खोप लगाएर दादुरा र रुबेला रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी ती रोगबाट संक्रमण हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्नु खोप अभियानको लक्ष्य रहेको उनको भनाइ छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, डाक्टर संगीता शाह लगायतले धारणा राखेका थिए । कार्यक्रममा स्वागत तथा औचित्य प्रकाश पार्दै वरिष्ठ स्वास्थ्य अधिकृत रमेश बाह्रकोटीले झापामा पहिलो खोप लगाउने १०५ प्रतिशत र दोस्रो खोप ९८।८ प्रतिशतले मात्र लगाएको कारण खोप लगाउन छुटाएकाहरुबाट संक्रमण बढेको हुन सक्ने बताए ।
कार्यक्रमको अध्यक्षता वरिष्ठ स्वास्थ्य अघिकृत बाह्रकोटीको रहेको थियो । सरकारले ९ महिनादेखि १५ वर्षमुनिका बाल बालिकालाई दादुरा–रुवेला रोगको संक्रमण हुन नदिन तराईका २१ र उपत्यकाका ३ जिल्लामा खोप अभियान सञ्चालन गरेको छ ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...