पेण्डुलम विद्यार्थी !

डम्बर रुचाल

आजका विद्यार्थी पेण्डुलम छन् भन्दा अचम्म लाग्छ होला । कतिपयले आलोचना शुरु गर्नुहुन्छ होला । तर, आजका विद्यार्थी पक्कै पनि पेण्डुलम छन् । हुन त म आफैँ शिक्षक हुँ । शिक्षण पेशा तथा व्यवसायमा करिब २३ बर्ष बिताई सकेँ । हिजोलाई फर्केर हेर्छु । आजलाई विश्लेषण गर्छु । पाउँछु के त भन्दा आजका विद्यार्थी भिरको चिण्डो उधो न उभोको अवस्थामा छन् ।
एउटा स्थानीय विषय हाम्रो मेचीनगरका केही पाठ्यवस्तुहरुलाई तथ्यको रुपमा लिएर हेरौँ । सामाजिक चुनौतीहरु मध्ये लागुपदार्थ तथा दुव्र्यवसनी, अन्धविश्वास, विभेद जस्ता पाठ्यवस्तुहरुलाई लिन सकिन्छ । म शिक्षक हुँ, आफुले आफुलाई सोधेँ, के कक्षा कोठामा छलफल गरेका विषयहरु विद्यार्थीले प्रयोग गर्न पाएका छन् ? घरले त्यो अवसर दिन सकेको छ ? समाज र समुदायले समर्थन गरेको छ ? सरोकारवालाहरु, जनप्रतिनिधिहरु र सरकार सञ्चालकहरुले सहयोग र समर्थन गरेको अवस्था छ ? सजिलै भन्न सकिन्छ कि स्कुलमा पाठ्यपुस्तक अनुसार गरेका क्रियाकलाप, कक्षाकोठामा छलफल गरेका ज्ञानविज्ञानका कुराहरु, सिकेका सीपहरु विद्यार्थीले प्रयोग गर्न पाएका छैनन् । घर तथा अन्य सबै पक्षहरु बाधक छन्, जुन माथि उल्लेख गरिएको छ ।
कक्षा कोठामा लागुपदार्थ तथा दुव्र्यसनीको बारेमा छलफल हुन्छ । अत्याधिक रुपमा मोबाइल चलाउनु गलत लत हो भनेर पढेको बिद्यार्थीले घरमा हेर्छ, आवश्कता भन्दा बढी मोबाइल चलाएर बस्ने बाबुआमा, दाजु दिदी लगायत सबैलाई देख्छ । आफुले किताबमा पढे अनुसार सम्झाउन खोज्दछ, भन्न खोज्दछ तर मर्यादाको नाममा गाली खान्छ, दवाव खेप्छ किनकी उ सानो छ । प्रश्न उठ्छ यदि एउटा विद्यार्थीले बुझेको कुरा परिवारमा प्रयोग गर्न नै पाउँदैन भने स्कुल किन पठाउनु पर्यो ? लागुपदार्थको बारेमा शिक्षकसँग छलफल गर्छ, कुरो बुझ्छ, सकारात्मक धारणा बनाउँछ । आफ्नो भूमिका निर्वाह गर्न खोज्छ तर उ देख्छ की बाबाले ठाडो घाँटी पारेर मधु खाइरहेको छ, गुट्का खाइरहेको छ, आमाले, दिदीले दाजुले बिँडी तानिहेका छन् । पराग खाइरहेका छन् ।


आफुले कक्षा कोठामा, कितावको सहायताले बुझेको ज्ञान प्रयोग गर्न खोज्छ, भन्न खोज्दछ, सम्झाउन खोज्दछ । तर, उसले फेरी पनि गाली खानु पर्छ । जान्ने हुन्छस् भन्ने जस्ता खिन्न हुने किसिमको अपमान सहनु पर्छ । यो आज हरेक परिवारमा छ । समाज समुदायमा त अझ बुझेको कुरा प्रयोग गर्ने हिम्मत नै हुँदैन । विद्यार्थीले सम्झन्छ, प्रश्न गर्छ मैले किन पढ्दैछु ? शिक्षकले समाज र परिवारमा तिम्रो के भुमिका छ भनेर सोध्नु भएको प्रश्नको उत्तर म कसरी दिन सक्छु ? मेरो बुवा आमाले मलाई स्कुल चाहिँ किन पठाइरहनु भएको छ ? जवकी म आफै मैले बुझेको कुरा, पाठ्यक्रमले निर्माण गरेको मेरो मनस्थिति घरपरिवरमा प्रयोग नै गर्न पाइँदैन भने । मेरो सिकाई र बुझाइको सम्मान र प्रयोग नै हुँदैन भने मलाई विद्यालय चाहिँ किन पठाइरहनु भएको छ ? विद्यार्थी आफुलाई आफुले घरको न वनको सम्झिरहेको छ ।
अन्धविश्वास समाजको सबैभन्दा ठुलो चुनौती हो भनेर बिद्यार्थीले पढ्नु पर्छ । शिक्षकहरुले सिकाउनु पर्छ । किताबमा छ, पाठ्यपुुस्तकमा छ, त्यसैले कक्षा कोठामा छलफल चलाउनु पर्छ । विद्यार्थीले बुझ्छन् । धारणा बनाउँछन् । अनि आफ्नो भुमिका खोज्दछन् । परिवारमा आफुले बुझेको कुरा भन्न खोज्दछन् । प्रयोग गर्न खोज्दछन् । तर पेण्डुलम विद्यार्थीलाई कसको कुरा मानौँ कसको हुन्छ । किताबको मानौँ, पाठ्यक्रमको मानौँ ? आफ्नो भूमिका प्रयोग गरौँ भने बिरालोले बाटो काट्दा अशुभ ठान्ने परिवार छ उसँग ।
शिक्षक आफै पनि विद्यार्थीका लागि मात्र सम्झन्छ, उ आफै रुढीग्रस्त छ । भुत मान्दछ । सूर्य देवता मान्दछ, अन्धभक्त रुपमा कपोकल्पित देवता मान्नु आफ्नो संस्कृति ठान्दछ । सनातनी मूल्य मान्यता ठान्दछ । शिक्षक मात्र हैन, अन्ध विश्वासका अधिकांश सनातनी चलनहरु स्कुल भित्र अभ्यास गर्नु, स्कुल बाहिर अभ्यास गर्नु आफ्नो संस्कृति सम्झने विद्यालय प्रशासन, व्यवस्थापन, वडा सरकारका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु प्रसस्तै पाइन्छ । लाग्छ विद्यार्थीले के सिक्दैछ भन्ने नै थाहा छैन ।
सिकेका कुरा व्यवहारमा प्रयोग गर्न पाउनु पर्छ भन्ने नै थाहा छैन । थाहा भए पनि स्वीकार गर्नै सक्दैनन्, किनकी विद्यार्थीहरु साना हुन्छन् । तिनले बुझेको कुरा प्रयोग गर्न खोज्नु मर्यादाको सवाल छ । विद्यार्थीहरु यो सबै देखेर अलमल्ल पर्छन् । किताब किन पढ्ने, पाठ्यक्रमको उद्देश्य अनुसार शिक्षा किन ग्रहण गर्ने वा भनौँ किन स्कुल जाने ? विद्यार्थीलाई भित्रभित्रै अनुभूत हुन्छ । आजभन्दा ३० वर्ष अगाडिको वा भनौँ मध्यकालीन शिक्षाले निर्माण गरेको अग्रज टाउकाहरु यदि आजको विद्यार्थीले सिकेको कुरा प्रयोग गर्ने कार्यमा बाधक बन्ने हो भने विद्यार्थी र विद्यार्थीले सिकेको सीप र ज्ञानलाई चिन्न नखोज्ने हो भने सम्मान गर्न नसक्ने हो भने प्रयोग गर्ने अवसर नदिने हो भने विद्यार्थीलाई विद्यालय किन पठाउने ? यो बहसको विषय बन्न जरुरी छ ।
विभेद सबैभन्दा ठुलो रोग हो भनेर पढाइन्छ । प्रगतिशील समाजको सबैभन्दा ठुलो चुनौती विभेद हो भनेर सिकाइन्छ । विद्यार्थीलाई परियोजना कार्य दिइन्छ । घर र समाजमा अभ्यास गराइँदै आएको विभेद हटाउन तिम्रो भूमिका के ? भनेर सोधिन्छ । विद्यार्थी भूमिका खेल्न खोज्दछ । घरमा आमाले छुन्छ की भनेर परबाट चिया देको देख्छ । पर राखेर खाना देको देख्छ, समुदायमा तेस्तै देख्छ, समाजमा तेस्तै देख्छ अनि भित्रभित्रै अन्योलमा पर्छ र सोध्छ, म किन पढ्दैछु ? मलाई किन पढाइदैछ ? विभेदको विरुद्धमा न परिवार बोल्छ । न त जनप्रतिनिधिहरु नै कुनै अभियान चलाउँछन् ।

 डम्बर रुचाल

न त पुस्तक लेख्ने लेखकहरु बोल्छन् । न त पाठ्यक्रम निर्माता र कार्यान्वयन गर्ने निकाय नै बोल्छ । अनि तिनै विद्यार्थीले गाली खान्छन् । किनभने जस्तो रिजल्ट निकाल्न सकिनस् ? भनेर । किन परियोजना कार्य गर्न सकिनस् भनेर । कुनै जनचेतनामुलक कुरा घरमा गरे गाली खान्छ, कुनै परियोजना कार्य अनुसार विभेद हटाउने अभियान चलाए घर परिवार, समाज र समुदाय मेरै हो भनी हिँड्ने पण्डितहरुको घेराबन्दीमा परिन्छ की भन्ने डर छ । लाग्छ विद्यार्थीले के सिक्ने किन सिक्ने र कसका लागि सिक्ने ?
सहिष्णुताको पाठ सिकाउने विद्यालय सञ्चालकहरु, व्यवस्थापकहरु सबै पटक पटक विद्यार्थीको घरमा गएर अरुको सत्तोसराप गर्दै, अरुको नकारात्मक कुरा गर्दै भर्ना अभियान चलाउँछन् । राजनीतिक संस्कार हेर्याे भने पुरै असहिष्णु देखिन्छ । समाजका यस्ता सबै क्षेत्रहरु असल र आदर्श बनाउन बिद्यार्थीको भूमिका खोज्ने पाठ्यपुस्तक, शिक्षकहरु, पाठ्यक्रम सबै औपचारिकतामा सीमित छन् ।
राज्य बोल्न सक्दैन । सरकारको नेतृत्व काम गर्न सक्दैन । विद्यार्थी त्यसै घरको न घाटको भएको छ । घरको सम्मान गरौँ की पाठ्यपुस्तकको । पाठ्यक्रमलाई आत्मसाथ गरौँ की सनातनी संस्कारलाई । सनातनी आदतलाई । विद्यार्थी अन्योलमा छ, पेण्डुलम छ ।
बुझेको कुराको सम्मान छैन । सिकेको सीपको प्रयोग छैन । ल्याइदिनु परेको छ उच्च अंक, अरुलाई उछिनिदिनु परेको छ । घरमा गयो किताब विर्सनु परेको छ । राज्यलाई हेर्यो सीप भुल्लु परेको छ, देशमा न सम्मान छ न अवसर छ । विदेश हिँड्यो राज्यको गाली खानु परेको छ । न त शिक्षकका कुरा मानौँ न त घरको चलन, न त किताबका ज्ञान मानौँ न त समाजको सनातन मानौँ । पढिसक्यो सर्टिफिकेट बोकेर भौँतारिनु पर्छ । सबैतिरबाट भकुण्डो भएको छ विद्यार्थी । सबैतिर बाट पेण्डुलम् भएको छ विद्यार्थी ।
सिक्नु यदि औपचारिकताको लागि मात्र हो भने कि न पठाउनु स्कुल ? गम्भीर भएर सोच्नुहोस् त । सिकेको सीपले कामै गर्न पाउँदैन भने किन जानु स्कुल ? आज सबै अभिभावकले सोच्ने बेला आएको छ । सबै सरोकारवालाहरुले सोच्ने बेला आएको छ ।
किताब पढ्नु भनेको, ज्ञान लिनु भनेको, सीप सिक्नु भनेको तिसौँ बर्षदेखि निर्माण भएको हाम्रो आदतमा सकारात्मक र प्रगतिशील परिवर्तन गर्नु हो । त्यो आफ्नो सनातनी मूल्य मान्यताको र आदतको बिरुद्धमा भए पनि विद्यार्थीले किताबबाट सिकेको ज्ञानको प्रयोग गर्न अवरोध गर्ने हो भने ५० औँ बर्ष परिवर्तन सम्भव छैन ।
त्यसैले विद्यार्थीलाई स्कुल पठाए पछि, किताब बोकाए पछि, उसले बुझेको ज्ञानका कुरा अनि आधुनिक र वैैज्ञानिक युगको चेतनाको स्तर प्रयोग गर्न प्रत्येक विद्यार्थीको घर तयार हुनुपर्छ । समाज तयार हुनुपर्छ । समुदाय तयार हुनु पर्छ । विलम्ब नगरी सरोकारवाला सबै तयार हुनु पर्छ । अन्यथा आजको विद्यार्थी मध्यकालीन शिक्षाले निर्माण गरेका आदतहरुको सिकार भएरहने छन् । सधँै घरको न घाटको भइरहने छन् ।
…………………………..