एनएमसीमा तीन दशकपछि नेतृत्व परिवर्तन


मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. काँकडभिट्टाले स्थापनाको तीन दशकपछि नेतृत्व परिवर्तन गर्ने भएको छ । संस्थाको निर्वाचन प्रक्रिया जारी रहेकोले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुदैछ । उम्मेदवारको दोस्रो सूची प्रकाशन भए अनुसार अधिकांश पदमा सर्वसम्मत हुने संभावना देखिएको छ ।

एनएमसीको निर्वाचन जेठ २७ गते हुने तय भएको छ । सोही अनुसार निर्वाचन प्रक्रियाहरु सञ्चालनमा रहेका छन् । अहिलेसम्मको उम्मेदवारीको विवरण हेर्दा दुई पदमा बाहेक सबै पदहरुमा सर्वसम्मत हुने परिस्थिति बनेको छ । भद्रपुर–केचना खुला तर्फको सञ्चालक समिति सदस्य र लेखा समिति सदस्यमा आवश्यक संख्या भन्दा १-१ जना बढिको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । दुवै पदमा सर्वसम्मत गर्ने गरी एनएमसीका अगुवाहरु क्रियाशिल भएका छन् । आज ३ बजेसम्म उम्मेद्वारी फिर्ता गर्ने समय छ । उम्मेदवारी फिर्ता हुने संभावना ५० प्रतिशत रहेको बुझिएको छ । फिर्ता नभए दुई पदमा निर्वाचन हुनेछ ।

अध्यक्षमा मेचीनगर–६ निवासी ठाकुर प्रसाद शिवाकोटी सर्वसम्मत हुने भएका छन् । दुई पदमा बाहेक अध्यक्ष सहित सबै पदहरुमा सर्वसम्मत हुने भएको हो । शिवाकोटी एनएमसीका संस्थापक ३६ जनामध्येका एक हुन् । उनी लेखा समितिपछि लामो समयदेखि सञ्चालक सदस्यको रुपमा कार्यरत थिए । सहकारी क्षेत्रमा समस्या आइरहेको बेला अनुभवी मानिएका शिवाकोटीको काँधमा एनएमसीको नेतृत्व आइपरेको छ ।

२०५० साल फागुन २४ स्थापना भएको एनएमसीमा स्थापनाकाल देखि रामचन्द्र उप्रेतीले अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । तीन दशकपछि उप्रेती अध्यक्षबाट विदा हुदैछन् । उनको नेतृत्वमा एनएमसीलाई सहकारीभित्र ब्राण्ड बनाउन सफल भएका छन् । अब, उनले आफ्नो अनुभवका आधारमा आगामी दिनमा संस्थालाई सहयोग गर्ने बुझिएको छ । अध्यक्षपछि दोस्रो वरियतामा निवर्तमान अध्यक्षको हैसियतले उप्रेती सञ्चालक समिति सदस्य रहन पाउने छन् ।

एनएमसीले स्थापनाको ३० वर्षमा बचत तथा ऋणको कारोवारसँगै एकीकृत नमूना कृषि परियोजना, सहकारी पसल, डेरी उधोग र चिया व्यवसाय गर्दै आएको छ । झापा, मोरङ र इलाममा कार्यक्षेत्र रहेको एनमएसीका ५८ वटा वित्तिय सेवा केन्द्र छन् । बैशाख मसान्तको वित्तिय विवरण अनुसार १ लाख ५० हजार ५२ सदस्य रहेको सहकारीको शेयर पुँजी १ अर्व ३९ करोड ८० लाख ५३ हजार ८ सय पुगेको छ ।

कुनै पनि संस्थामा नेतृत्व परिवर्तन आवश्यक हुन्छ , तपाई ३० वर्ष अध्यक्ष हुनुभयो भन्ने जिज्ञासामा उप्रेतीले भने – सफा नियतका साथ काम गरेपछि संस्थाको आवश्यकताका आधारमा नेतृत्व चयन हुन्छ । सहकारीमा नियत गलत नराख्ने र कमाउने सोच नबनाएको कारणले अहिलेसम्म नेतृत्व गर्ने अवसर पाएको उनको भनाई छ । नेतृत्व परिवर्तन भइरहे पनि गलत नियत राख्ने ठाउँहरुमा समस्या आइरहेका छन्, उनले भने – त्यसैले नेतृत्व आवश्यकताले निर्धारण गर्छ ।

पछिल्लो समय नीति विधिमा नचलेका सहकारीहरु समस्यामा परेको उप्रेतीको बुझाई छ । उनले सहकारीलाई बैंक ठान्ने र सदस्यहरुलाई पनि बैंकका सदस्य ठान्ने प्रवृत्तिका कारण पछिल्लो समस्याहरु देखिएको बताए । राज्यले बलियो ढंगबाट नियमन नगरेका कारण र अनुशासनमा नरहेका सहकारी समस्यामा आएको बताएका छन् । उनले भने – अहिलेको समय भनेको बैंक र सहकारी छुट्टाउने समय पनि हो ।