पठनीय बनाउन हामी प्रतिबद्ध छौँ


मेचीनगर–६, काँकरभिट्टाबाट प्रकाशित खबरमञ्च साप्ताहिक छैटौँ वर्षमा प्रवेश गरेको छ । साताको प्रत्येक बिहीवार प्रकाशित हुँदै आएको खबरमञ्च साप्ताहिकले सफलताको पाँचौ बसन्त पार गरी छैटौँ वर्षमा प्रवेश गरेको हो ।

२०७३ साउन १० गते झापा जिल्ला प्रशासन कार्यालयबाट अस्थायी दर्ता प्रमाण पत्र प्राप्त गरी खबरमञ्च साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरिएको हो । मेचीनगर नगरपालिका तथा आसपासका क्षेत्रलाई केन्द्रमा राखी खबरमञ्च साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरिएको हो ।

खबरमञ्च साप्ताहिकले सहरी क्षेत्र भन्दा पनि मेचीनगरका ग्रामीण भेगलाई बिशेष प्राथमिकतामा राखी जनताको समस्यालाई उजागर गर्ने प्रयास गरिएको छ । ग्रामीण पत्रकारितालाई प्राथमिकता दिएर जिल्लामा धेरै दैनिक र साप्ताहिक पत्रिकको भीडबाट ६ वर्ष अघि प्रकाशन सुरु भएको यो पत्रिकाले ग्रामीण पत्रकारितालाई प्राथमिकता दिएर आवाज विहीनहरुको आवाज बन्दै आएको हाम्रो ठम्याई छ ।

२०७३ साउनको पहिलो बिहीवारदेखि निरन्तर प्रकाशित भइरहेको खबरमञ्च साप्ताहिक पत्रिका १९० को स्पीडमा कुदिरहेको थियो । तर, गत बर्षबाट सञ्चालनको स्पीडमा ‘ब्रेक थ्रु’ लागेको छ । खबरमञ्च साप्ताहिक सँगसगै अन्य सञ्चारमाध्यमको रफ्तारमा पनि ब्रेक लाग्यो । २०७६ चैत महिनादेखि कोरोना भाइरसका कारणले संसारभर लकडाउन भयो । यस महामारीलाई नियन्त्रण गर्न चैत ११ गतेदेखि नेपाल सरकारले लकडाउन सुरु गर्यो । २०७७ असार सम्म त छापा माध्यम पूर्णरुपमा बन्द भए । यसको प्रभावले छापा माध्यमको स्पीडमा सन्तुलन आएको छैन ।

०४६ सालको परिवर्तनपछि मौलाएको सञ्चार क्षेत्र, विज्ञापन लगभग ठप्प भएपछि आर्थिक कठिनाइका कारणले अपूर्व कष्टप्रद समयको सामना गर्न बाध्य भयो । कोभिड–१९ को महामारीमा कोही पनि अछुतो नभइरहेका बेला मिडिया क्षेत्र पुरै तहसनहस भएको छ । राजधानीबाट प्रकाशित हुने पत्रिकाहरुले पत्रकारलाई जागिरबाट सधैँ वा केही समयका लागि निकाल्ने, तलब घटाउने र पत्रिका नै बन्द गर्ने क्रम बढेको छ । राजधानीबाट प्रकाशित धेरै नाम चलेका साप्ताहिक पत्रिका पूर्णरुपमा बन्द भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट सञ्चारमाध्यम तहसनहस बनेको छ । अझ छापा सञ्चारमाध्यमको अवस्था नाजुक छ । समयक्रम अनुसार अधिकांश छापा माध्यमले पनि अनलाइन संस्करण सञ्चालन गरे । खबरमञ्च साप्ताहिकले पनि लकडाउनकै समयममा खबरमञ्च अनलाइन डटकम सञ्चालन गरिरहेको छ । हामी पनि अनलाइन माध्यमबाट जनतालाई समाचार प्रवाह गरिरहेका छौँ । अनलाइन पत्रकारितामा जिल्लामा सञ्चालनमा रहेका सञ्चारमाध्यमसँग प्रतिस्पर्धा गर्न हाम्रो भूमिका कमी छैन । तर, हाम्रो चिन्ता छापा सञ्चारमाध्यमको रफ्तारमा लागेको ‘डिस् ब्रेक’ हो । कोरोना महामारीका कारण छापा सञ्चारमाध्यममा लागेको ‘डिस् ब्रेक’ का कारण राजधानीबाट सञ्चालित नाम नलेका धेरै साप्ताहिक पत्रिका सधाको लागि बन्द भएका छन् । छापा सञ्चारमाध्यमको इतिहास बोकेका अधिकांश पत्रिका बन्द हुँदा पत्रकारिताले ठुलो क्षति व्यहोर्नु परेको छ ।

हामी आफैँ अप्ठ्यारोमा छौँ । यस्तो अवस्थामा जनताका समस्या कसरी उठान गर्न सकिएला ? २०७६ चैत भन्दा अगाडिको रफ्तारमा हाम्रो सञ्चारमाध्यम कुद्न सकेन भने जनताका समस्या उठान गर्न सकिदैन । मेचीनगरबाट अहिले नियमित रुपमा २ दैनिक, ४ साप्ताहिक पत्रिका सञ्चालन भइरहेका छन् । तर, कोरोना कहरका कारण थला परेका यी पत्रिकाको नियमित प्रकाशन सुनिश्चित भने छैन । स्थानीय सरकारको रुपमा रहेको नगर कार्यपालिकामा जनप्रतिनिधिले शासन चलाउन थालेको पनि ५ वर्ष पुग्न लागेको छ । जनताका प्रतिनिधिले साप्ताहिक पत्रिकालाई सञ्चार माध्यमको दर्जा दिन चाहेनन् ।

नेपालमा २०४६ सालको परिवर्तनसँगै फस्टाएको पत्रकारिता २०७२ सालमा संविधान सभाबाट नयाँ संविधान जारी भइसक्दा समेत गुणस्तरीयतामा फड्को भने मार्न सकिरहेको छैन । अहिले झापामा सञ्चार माध्यम धेरै छन् तर गुणस्तर मापनमा पछाडि छन् । कोठे पत्रकारिताका कारण पत्रकारको क्षमता झन् कमजोर बनिरहेको छ । समाजले पत्रकारलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन । अबको नेपाली पत्रकारिता सन्देश र जानकारी भन्दा पनि खोजमुलक हुनुपर्छ । पत्रकारिताको विकास र समृद्धिका लागि अब खोज पत्रकारिताकोे विकल्प छैन । नेपालमा पत्रकारका विविध कामलाई व्यवस्थापन गर्न जरुरी छ । खोज पत्रकारिताको विकाससँगै पत्रकार सुरक्षा चुनौती पनि उत्तिकै छ । यी सबै कुरा चिर्न खबरमञ्च साप्ताहिक लागिपरेको छ ।

सञ्चारमाध्यमको विकास र बृद्धिसँगै पत्रकारको संख्या बढ्दै जाँदा ती पत्रकारको क्षमता विकास, पेशाप्रति जवाफदेही र जिम्मेवार बनाउनुपर्ने दायित्व स्वयम् आफुसँग मात्र छ । यहाँ समाचार लेखेको आधारमा नभएर फेसबुकको स्टाट्समा लाइक, कमेन्टको आधारमा पत्रकारको श्रेणी मापन गरिन्छ । यसबाट आउने दिनहरूमा स्वतन्त्र रूपले मर्यादित पत्रकारिता गर्ने, समाजप्रति जिम्मेवारी भई आफ्नो कामप्रति उत्तरदायित्व बहन गर्ने पत्रकारिता इतिहास त बन्ने होइन भन्ने चिन्ता हुन थालेको छ ।

हरेक चुनौतीको सामना गर्दै आम पाठकलाई समाचारका माध्यमबाट हरेक विषय वस्तु प्रस्तुत गर्नु र सुनिश्चित गर्नु हाम्रो कर्तव्य हो । प्रकाशनको पहिलो बर्ष र अहिलेको कोरोना कहरले सञ्चालनमा धेरै कठिनाइको सामना गर्नुपर्यो । अनेकौँ चुनौतीको सामना गर्दै आज हामी छैटौँ वर्षमा प्रवेश गरेका छौँ ।

साप्ताहिकको रुपमा मात्र सञ्चालन भएको खबरमञ्च पाँच बर्षमा सफल सञ्चार गृह (खबरमञ्च मिडिया हाउस) बन्न सफल भएको छ । हामीले साप्ताहिकको रुपमा खबरमञ्च साप्ताहिक, डिजिटल रुपमा खबरमञ्च अनलाइन डटकम र वार्षिक रुपमा खबरमञ्च रंगीन पत्रिका प्रकाशन तथा सञ्चालन गरिरहेका छौँ । खबरमञ्चलाई थप व्यवस्थित बनाएर सञ्चालन गर्ने अभियानमा निरन्तर सक्रिय भएर लाग्ने छौँ । पत्रिकालाई थप व्यवस्थित गर्दै पठनीय बनाउन हामी प्रतिबद्ध छौँ । साथै, आगामी दिनमा यहाँहरुको थप सल्लाह र सुझावको अपेक्षा गर्दछौँ ।

अन्त्यमा, पत्रिकालाई यहाँसम्म ल्याउनका लागि सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्न चाहन्छु । पाठक वर्ग, शुभचिन्तक तथा विज्ञापनदाताले पुर्याउनु भएको सहयोगको उच्च मूल्यांकन गर्दै सबैप्रति हार्दिक धन्यवाद प्रकट गर्दछौँ ।