म्याद सकिएका खाद्य वस्तुको ‘रिलेवलिङ’ गर्ने उद्योगी व्यवसायीलाई कारवाही


मेचीनगर  ।  हतारमा ऐन बनाउने तर, कार्यान्वयन पक्ष फितलो हुने गरेका कारण नेपालका थुप्रै ऐन कागतमामात्र सिमीत बनेका छन् । यस्तै कागतमा मात्र सिमीत बनेको एउटा ऐन हो, उपभोक्ता अधिकार ऐन । उपभोक्ता अधिकार ऐनमा हरेक व्यवसायीले उपभोग्य सामाग्रीको मूल्यसूची अनिवार्य राख्नु पर्ने उल्लेख छ ।

ऐनले यस्तो कुरा बोलेको भए पनि झापाको मेचीनगरमा चाँहि ठीक उल्टो छ । झापाको मेचीनगरको प्रमुख व्यपारिक केन्द्र काँकरभिट्टा, धुलावारी चारआली लगायतका अधिकाँश पसलमा यो ऐन कार्यान्वयनमा छैन् । अधिकाँश पसलमा मूल्यसूची नराख्ने गरिएको अनुगमनका क्रममा फेला परेको छ । कोभिड १९ संक्रमणको समयमा बजारमा खाद्य सहित अत्यावश्यक उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन र निषेधाज्ञाका समयमा बजारमा हुने कालोवजारी र खाद्य सामग्रीको मुल्य बृद्घि नियन्त्रण गर्न शुक्रबार मेचीनगरमा बजार अनुगमन गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय झापाले नोवल कोरोना भाइरस कोभिड १९ संक्रमण रोक्न र फैलिन नदिन आइतबार मध्यरातदेखि निषेधाज्ञा घोषणा गरेको छ । त्यस बखत हुनसक्ने काला बजारी, खाद्यसहित अत्यावश्यक वस्तुको कृत्रिम अभाव र मुल्य बृद्घि नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता दिईएको सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको भनाई छ ।

नगर स्तरीय अनुगमन टोलीका संयोजक एवम् मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीसहित जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख ल्ला अधिकारी तिलोचन रिमाल, प्रशासकीय अधिकृत दयाकृष्ण ढकाल, नायव सुब्बा यदुनन्दन दाहाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजजिन कार्यालय झापाका खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरी, मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्की, घरेलु तथा साना उद्योग कार्यालय झापाका अधिकृत नारायणप्रसाद खतिवडा, आन्तरिक राजस्व कार्यालय भद्रपुरका नायव सुब्बा बालकृष्ण दंगाल, गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरका सहायक निरीक्षक अनुजा घिमिरे, इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक विकास राईलगायतको टोलीले नगरको ९ र १० नम्बर वडाका दर्जनबढी खाद्य पसलको छड्के अनुगमन गरेको थियो ।

टोलीले अनुगमनका क्रममा अधिकाँश पसलमा मूल्यसूची नभेटेपछि तत्काल मूल्यसुची राख्न र दैनिक ‘अपडेट’ गर्न र त्यसका सञ्चालकहरुलाई तत्काल सम्बन्धित कार्यालयमा सम्पर्कका लागि पत्र काटेको, प्रत्येक खाद्य पदार्थको उत्पादन मिति, ‘एक्सपायर डेट’ लेवल हेरेर खरीद विक्री गर्न , खाद्य पदार्थको गुणस्तरमा ध्यान दिन सुझाँव दिइएको टोलीमा संलग्न मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए ।

उपप्रमुख उप्रेती र सहायक प्रमुख जिल्ला अधिकारी रिमालले कोभिड १९ को कारण देखाई दैनिक उपभोग्य वस्तुलगायत स्वास्थ्य सामग्रीको बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, म्याद सकिएका खाद्य वस्तुको ‘रिलेवलिङ’ गर्ने जस्ता गैरकानुनी काम गर्ने उद्योगी व्यवसायीलाई कानून बमोजिम कडा कारवाही गर्ने चेतावनी दिए। । कानून विपरीतको कार्य हुन नदिन जिल्ला तथा नगरस्तरीय बजार अनुगमन टोलीले बजार अनुगमनलाई तीव्रता दिने र कानून विपरीत कार्यमा संलग्न जो कोहिलाई पनि कानून बमोजिम कडा कारवाही गर्ने निर्णय यस अघि भइसकेको सहायक प्रमुख जिल्ला अधिकारी रिमालले स्मरण गराए।

टोलीले पौडेल किराना पसल, विजय किराना पसल, शान्ति स्टोर्स मास भेराइटिज स्टोस, घिमिरे किराना पसललगायतको अनुगमन गरेको थियो