भद्रपुर–काठमाडौँ हवाई भाडा १५ सय रुपैयाँ मात्र
भद्रपुर । झापाको भद्रपुरबाट काठमाडौँसम्मको हवाई उडानको भाडादर सस्तो भएको छ । अनिमेष ट्राभल्सका सञ्चालक गोपाल खनालका अनुसार शनिबार भद्रपुर–काठमाडौँ उडानको प्रतियात्रु न्यूनतम् भाडा बुद्ध एयरले रु एक हजार ५००, यति एयरले रु एक हजार ३९५, सौर्य एयरले रु एक हजार ४०० र श्री एयरले रु एक हजार ४०० तोकेको छ ।
कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण उच्च विन्दुमा पुगिरहेको बेला भद्रपुरबाट राजधानी जाने यात्रु घटेका कारण भाडादर अहिलेसम्मकै कम भएको हो । सामान्यतया भद्रपुर–काठमाडौँको भाडादर न्यूनतम् रु तीन हजार रहने गरेको छ । “कोरोनाको सङ्क्रमणको त्रास बढेका कारण राजधानी जाने क्रम ह्वात्तै घटेको छ”, खनालले भने, “काठमाडौँबाट आउनेहरुको भने चाप बढेको छ ।” काठमाडौँबाट भद्रपुर आउँदाको हवाई भाडादर बढेर रु चार हजारदेखि रु नौ हजार २५० सम्म पुगेको छ ।
भद्रपुरको चन्द्रगढी विमानस्थल २०२८ सालमा स्थापना भएको हो । तर २०३० सालमा आन्तरिक कारणबाट विमानस्थल बन्द भयो । त्यसपछि एकैचोटि २०४८ साल चैत १८ गते मात्र विमानस्थल खुलेको थियो । २०४८ सालमा विमानस्थल खुलेको पहिलो दिन आफूले नै रु एक हजार ७८० मा शाही नेपाल वायु सेवा निगमको जहाजको टिकट काटेको स्मरण गर्दै अनिमेष ट्राभल्सका सञ्चालक खनालले भने, “भद्रपुर–काठमाडौँ रुटको आजको भाडादर इतिहासमै सबैभन्दा सस्तो हो ।”
कोभिड–१९ को महामारी र निषेधाज्ञाको अवस्थाका कारण यात्रु घटेको जनाउँदै एयरलायन्सहरुले हवाई उडानसमेत कटौती गर्न थालेका छन् । शुक्रबारदेखि भद्रपुर–काठमाडौँ रुटमा बुद्ध एयरले दैनिक पाँच उडानमध्ये दुई उडान कटौती गरिसकेको छ । यति एयरले तीन उडानमध्ये एउटा कटौती गरेको छ । श्रीएयरका दुई र सौर्य एयरको दैनिक एक उडान कायमै छ ।
यसअघि हरेक दशैँ–तिहारका बेला काठमाडौँबाट आउने यात्रु अत्यधिक हुने तर जाने यात्रु घट्ने भएका कारण हवाई सेवा प्रदायक कम्पनीहरुले भद्रपुर–काठमाडौँको भाडादर घटाएर रु एक हजार ६०० सम्म पुर्याउने गरेका थिए ।
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...

