श्रीअन्तुमा दुई दिवशीय पुर्नताजगी तालिम


काँकरभिट्टा । यहाँस्थित महिला जनचेतना केन्द्र र मखमली महिला बचत तथा ऋण सहकारी संस्थाले दुबै संस्थाको विगत र वर्तमानको समीक्षासहित भावी कार्ययोजना बारे घनिभूत छलफल गरेको छ । पूर्वको प्रसिद्ध पर्यटकीयस्थल इलामको श्रीअन्तुमा दुवै संस्थाले संयुक्त रुपमा आयोजना गरेको दुई दिवशीय पुर्नताजगी तालिममा समीक्षासहित आगामी योजना बारे छलफल गरेको हो ।

आन्तरिक पर्यटन प्रवद्र्धनमा संस्थागत रुपमा सघाउ पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा संस्थाका पदाधिकारी तथा सदस्यहरुबीच अन्र्तक्रियात्मक छलफल भएको केन्द्रकी संस्थापक अध्यक्ष एवँ मखमली महिला साकोसकी अध्यक्ष राधा प्रधान कार्कीले बताइन् । केन्द्रको हाल कार्यकारी प्रमुख रहेकी कार्कीले कार्यक्रमलाई औपचारिक रुपमा सञ्चालन गर्दै स्वागतसहित प्रारम्भमा छलफलका लागि तय भएका विषयवस्तुमाथि जानकारी गराएकी थिइन् । केन्द्रकी अध्यक्ष तथा सेवा निवृत्त शिक्षिका भूवन सुब्बाको अध्यक्षतामा भएको छलफलमा सहभागीहरुबाट व्यक्त विचारका मूलभूत अंशलाई केन्द्रका कार्यक्रम संयोजक मणिकुमार लिम्बूले बुँदागत रुपमा टिपोट गरेका थिए ।

अन्र्तक्रियामा केन्द्रकी सचिव सीता गुरुङ, सह सचिव रिता प्रधान, कोषाध्यक्ष लक्ष्मी खनियाँ, सदस्यहरु मीनु थापा, लक्ष्मी प्रधान, रेजिना श्रेष्ठ तथा मखमली महिला साकोसकी ज्येष्ठ सदस्य रुक्मणी प्रधान, सदस्यहरु मंगला राई, प्रमिला विश्वकर्मा, सरिता महर्जन, रिता थापा सहभागी थिए । दुबै संस्थाका करिब ३० जना पदाधिकारी तथा सदस्यहरुले संस्थाले स्थापनाकालदेखि वर्तमानसम्म आइपुग्दा हाँसिल गरेका उपलब्धि र कार्यक्रमहरु प्रशंसायोग्य भएको साझा धारणा व्यक्त गर्दै संस्थालाई अझै परिस्कृत गर्दै समयसापेक्ष नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए । उनीहरुले व्यस्त जीवनशैलीमा समय व्यवस्थापन चुनौतिपूर्ण बनेको उल्लेख गर्दै त्यसतर्फ सबैले ध्यान दिनुपर्ने बताएका थिए ।

संस्थाले सञ्चालन गर्ने सामाजिक उत्तरदायीत्वका कार्यक्रमलाई निरन्तरता दिँदै एकताबद्ध भएर अघि बढ्नुपर्ने उनीहरुको भनाई थियो । छलफलका क्रममा सहभागीहरुले मखमली महिला साकोसले स्थापना अवधिमै लिएको महिला शेयर सदस्यको संख्या वृद्धिको संकल्पलाई साकार रुप दिनुपर्ने, किशोरी र महिलालाई प्रत्यक्ष रोजगारी दिलाउन स्वरोजगारमूलक तालिम र कार्यक्रम अघि सार्नुपर्ने, क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न तालिम आयोजना गर्नुपर्ने, ज्येष्ठ महिला लक्षित कार्यक्रम ल्याइनुपर्नेलगायतका सुझाव दिए । कार्यक्रममा केन्द्रले बाल विवाह तथा कम उमेरमा हुने विवाह न्यूनीकरण परियोजना सञ्चालन गरेको कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकाबाट समेत सहकारकर्मी, शिक्षिका, विद्यार्थी र सामाजिक परिचालिकाको प्रतिनिधिमूलक सहभागिता थियो ।

त्यसक्रममा बाह्रदशी गाउँपालिकास्थित जुनतारा महिला कृषि सहकारी संस्थाकी अध्यक्ष शान्ता प्रसाईं, परियोजना अन्तर्गत बाह्रदशीस्थित गौरीशंकर माविमा गठित किशोर–किशोरीहरुको समूहकी संरक्षक शिक्षिका रुपाकुमारी राई, समूहकी संयोजक अनिषा उप्रेती, सचिव इश्वर मूर्मुले अनुभवसहितको सुझाव पेश गरेका थिए । ‘छलफलका क्रममा सहभागीहरुबाट उठेका महत्वपूर्ण सवालले संस्थाको गतिशिलता सन्तोषप्रद रहेको भान भएको छ’ कार्कीले भनिन्–‘यसबाट संस्था परिवारलाई अझ उर्जा मिलेको महशुस गरेका छौं, यसलाई संस्थाले अमूल्य निधिका रुपमा स्वीकारेको छ ।’ त्यस्तै उक्त परियोजना अन्र्तगत समुदायस्तरमा गठन गरिएका महिला तथा किशोरीहरुका विभिन्न समूहका सामाजिक परिचालिकाहरु कचनकवलकी निमसरी राजवंशी र ठन्डा राजवंशी तथा बाह्रदशीकी राधिका राजवंशीले समूहको विद्यमान स्थितिलाई साराँशमा प्रस्तुत गरेका थिए ।

उक्त परियोजना अन्तर्गत बाह्रदशीमा गठन गरिएको महिला तथा किशोरीहरुको समूहले सामूहिक खेतीका लागि गरेको तयारीलाई प्रेरक कदम भनी सहभागी वक्ताहरुले त्यस कार्यको प्रशंसा गरेका थिए । सामूहिक खेतीका लागि महिला जनचेतना केन्द्र र जुनतारा महिला कृषि सहकारी संस्थाले संयुक्त रुपमा पहल गरी ३ कठ्ठा जग्गा व्यवस्थापनका लागि योजना सम्झौता गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।