राजनीति र वेइमानी


वर्तमान राजनीतिको मुल धारका दल,पात्र र प्रवृत्तिहरुलाई हेर्दा राजनीति र बेईमानी पर्यायवाची जस्तै भएको छ । वर्तमान राजनैतिक गतिरोधको मुल कारण पत्ता लगाई त्यसको स्थाई समाधान तर्फ अघि बड्नुभन्दा एकले अर्कालाई आरोप(प्रत्यारोप गरि आफू मात्रै चोखो वन्न खोज्नुले राजनैतिक वेईमानिकै पुष्टि गर्दछ । यसप्रसँगको चर्चा गर्दा वर्टेल रसेलको एक भनाई सम्झन्छु ।

वर्टेल रसेलले भनेका छन कि ‘जो सवैभन्दा ठूलो स्वरले चोर चोर भन्दै कराउँदछ पहिले उसकै जेभ चेक गर्नु,किनकि चोर उहीँ पनि हुनसक्दछ । मानिसको ध्यान अन्यत्रै मोड्न र आफू जोगिन चोर चोर भन्या हुन सक्दछ।’ यसै सन्दर्भमा ओशो भन्नुहुन्छ ‘अर्कामा देखिने दोष भनेको आफ्नै दोषको प्रतिछाँया मात्र हो । त्यसकारण पहिले आफ्नै दोषको पहिचान र समाधान गर ।’ म यहाँ कुनै एक दल,पक्ष र पात्रलाई मात्र इङ्गित गरेर यी प्रसंगहरु उल्लेख गरिरहेको छुईन,मुलधारका सवै दल र तिनका पात्रहरु तर्फ इङ्गित गरिरहेको छु ।

एउटा जङ्गवहादुर सत्ताको दुरुपयोग गरेर मनोमानी जङ्गीआदेश र निर्णयहरु गरि हिड्दै छ जो जनहित विपरीत छ र जसको सर्वत्र विरोध र आनदोलन पनि भईराखेको छ । अर्को जङ्ग वहादुर आन्दोलनको नाममा सडकको दुरुपयोग गरि जनतालाई सताउने जङ्गलि आदेशहरु गर्दै हिड्दै छ, यो पनि जनहित विपरित नै छ । अझै अर्को एउटा संभावित जङ्गवहादुर (जो ईतिहाँसमा जङ्गवहादुर मै प्रमाणित भई थेचारिइसकेको) धमिलो पानीमा माछा मार्न पाइन्छ कि भनेर मौका हेर्दैछ,यो पनि जनहित विपरीत नै छ । किनकि मरिसकेको लाशमा फर्कनु भनेको प्रेतात्मा वन्नु हो जसले जनतामा शान्ति र चैन भन्दा पनि अशान्ति र वेचैन नै पैदा गर्दछ । तसर्थ एक्काईसौं शताब्दीका त्यसमा पनि बौद्धिक युगका हामी जनताहरुको सामु एउटा मात्रै होईन अनेकौं रुप र व्राण्डमा रहेका जङ्गवहादुरहरुलाई परास्त गर्नुपर्ने नयाँ तथा गंभीर चुनौती थपिएको छ ।

यस गंभीर चुनौतीलाई सामना गर्न जनताको पंक्तिवाट तथा जनताका प्रतिनीधि हौं भन्ने विभिन्न तह र तप्का, विभिन्न पेशाकर्मी, नागरिक समाज, बौद्धिक समुहलगायतवाट समग्र राजनैतिक ईतिहासका विभिन्न आन्दोलनहरु र त्यसपछि वनेका संविधान र सरकारहरुका कार्यशैलीहरुको गहन समीक्षा गर्दै अग्रगामी एजेन्डा तय गरि त्यसैको वलमा संयुक्त जनआन्दोलनको विकास गरेर मात्र सकिन्छ । र अबका एजेन्डाहरुले राजनैतिक स्थायित्व,शान्ति तथा समृद्धि र विधिको शासनको संवैधानिक सुनिश्चितता तथा स्पष्टता गरोस् । साथै माथि उल्लेख गरिए जस्तो राजनीति र वेइमानि उस्तै उस्तै हुन भन्ने गलत साबित होस । हर समस्याले समाधान पनि सँगै लिएर आएको हुन्छ,हर चुनौतीले विकल्प पनि सँगै दिएको हुन्छ र हर राजनैतिक संकटले नयाँ नीति र नेतृत्व पनि सँगै जन्माउने गर्दछ ।

‘राजनैतिक स्थायित्व र गणतन्त्रको संस्थागत विकासको लागि जनतावाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको संवैधानिक व्यवस्था गरौं ।’
‘समृद्धि र सर्वाङ्गिण विकासका लागि विशेषज्ञहरुको मन्त्रीपरिषद निर्माण गरौं ।’
‘विधिको शासन र नियमनकारी भुमिकाको लागि चुस्त जनप्रतिनिधि सभा चयन गरौं ।’

लेखनाथ अधिकारी
राष्ट्रिय धुर्बिकरण अभियानका अभियन्ता