मिथ्या बहस बेकार छ !


बिषय आफैबाट शुरु गर्छु । कम्प्यूटरलाई साधन बनाएर अध्ययन अध्यापन र कार्यालयको काम गर्न शुरु गरेको ३० बर्ष पुरा हुन लागेछ ।MSN, HOTMAIL र YAHOO को उपयोग गर्दै इन्टरनेटको प्रयोगकर्ता बनेको पनि २४ बर्ष पुरा भयो । सन २००९ देखी फेसवुक, त्यसपछि क्रमश: म्यासेन्जर, ट्वीटर, इन्स्टाग्राम वाट्सअप, भाइवर र जुम हुँदै टिकटकको प्रयोग गरिरहेको छु ।अर्को तर्फ स्नातक तहमा आफुले अध्ययन अध्यापन गराउने “समाजशास्त्रको परिचय”, “समाजशास्त्रीय सिद्धान्तहरु”, “सरकार र नेपालमा निर्वाचन” र “विकास र लोकतन्त्रको समाजशास्त्र” आदिका सन्दर्भ सामाग्रीहरुको मुख्य स्रोतको खोजी स्थल नै गुगल र यूटूब भएका छन ।बिस्तारै लाग्दैछ माथी उल्लेखित ArtificialIntelligence (AI) का केही Application बाहेक AI का अन्य Application मा समयमा नै अभ्यस्त हुन नसक्ने हो भने जीवनको बाँकी समय प्रतिष्पर्धाको घेराबाट बाहिर पुगिन्छ ।

माथी उल्लेखित पृष्ठभूमीका सबै विषय अध्ययन र अनुसन्धानका लागि वृहत क्षेत्र हो ।AI का अन्य Application लाई छोडेर आज मात्र चर्चा गर्न खोजेको बिषय हो “SocialMedia” जसमध्ये पनि प्रयोगकर्ताका अभिव्यक्तिहरु जो फेसबुक, ट्वीटर र टिकटकमा अनेकरुपमा प्रकट हुन्छन : आवेग सहितको घृणाको रुपमा जो बास्तव मै यथार्थ त के,  त्यसको नजिकसम्म हुन्नन ।

धेरै अगाडीका समयको चर्चा परिचर्चा गरेर यो लेखलाई लामो बनाउन मन छैन । २०७८ साल देखि हालसम्म आइपुग्दा राष्ट्रिय राजनीतिमा उठेका बिषयहरु मध्ये – नेपालको संबिधानले दलीय प्रतिनिधित्व गरी निर्वाचित भएका संसदलाई निर्दलीय बनाई संघ वा प्रदेशको सरकार गठन गर्न गरेको व्यवस्था, संघीय सरकार र अर्थ मन्त्रालयले समयमा नै अबलम्बन गर्नु पर्ने तर गर्न नसकेको आर्थिक तथा मौद्रिक नीति, पछिल्लो समय बढी चर्चामा रहेका काण्डहरुका बिषयमा आफु र आफु आवद्ध व्यक्ति बाहेक सवै बेठिक भन्ने पक्षधरता र पुँजीबादी उत्पादन स्वरूपले सृजना गरेको चरम प्रतिस्पर्धाका कारण “आफु मात्र असल देखिन वा आफुले मात्र जित्न”- अरुलाई खराब मात्र हैन अत्यन्तै खराब भन्नै पर्ने मानसिकताबाट ग्रसित भई सामाजिक संजालमा व्यक्त हुने अभिव्यक्ति जो बास्तव मै “मिथ्या” मात्र हुन्छन, त्यस्ता बहसहरुको मनोबैज्ञानिक र सामाजिक पक्षको चर्चा गर्न खोजिएको हो ।

प्रतिकात्मक अन्तरक्रियाबाद दृष्टिकोणसँग नजिक रहेका एक अमेरिकन समाजशास्त्री हुनुहुन्थ्यो – “चाल्स हर्टन कुले” । वहाँले एउटा दृष्टिकोण प्रस्तुत गर्नु भयो – “LookingGlassSelf”, जसका तीन वटा तत्वहरु छन :-

–   हामी अरुलाई कसरी हेर्दछौ भन्ने हाम्रो धारणा,

–   हामीले कसरी हेर्दछौ भन्ने अरुको मुल्यांकनमा हाम्रो धारणा

–   हाम्रो ती बुझाईप्रतिको बुझाई

सामाजिक संजालमा आफुले वा अरुले दिएका अभिव्यक्तिलाई कुलेको दृष्टिकोणबाट हेर्ने हो भने – व्यक्तिले अरुलाई हेर्न कस्तो धारणा बनाएका हुन्छन, व्यक्तिका खास विषयका धारणा र स्वरुपलाई अरुले कसरी बुझ्दछन र अरुले कसरी  बुझे होलान भन्ने आफुले गर्ने अनुभूति नै स्वमुल्यांकनको मुख्य प्रकृया हो ।

अव सामाजिक संजालमा प्रकट गरिने वा हुने अभिव्यक्ति जसलाई यहाँ “बहस” भनिएको छ, त्यस बिषयको चर्चा शुरु गरौ वेन फ्रयाङ्कलिनको भनाइबाट । उनका अनुसार “ यदि तपाइँ बहस गर्नुहुन्छ र बिरोध खडा गर्न सक्नु हुन्छ भने पटक पटक जित्न पनि सक्नुहुन्छ, तर त्यो खोक्रो विजय हुनेछ किनकी तपाई आफुले हराएका त्यस्ता मानिसहरुको सद्भाव कहिल्यै जित्न सक्नु हुन्न ।” वेन फ्रयाङ्कलिनको भनाइबाट तपाइँले के बुझ्नु भयो, त्यो म भन्न वा अन्दाज गर्न सक्दिन तर मैले “ हामी बौद्धिक विजय चाहान्छौ कि सद्भाव” एक चै रोज्ने पर्छ भन्ने बुझे किनकी दुवै कुरा एकै साथ मुश्किलले मात्र प्राप्त गर्न सकिन्छ ।

बाल्यकाल पछीको बिद्यार्थी जीवनमा, स्नातक तह पुरा गरेर ३ वर्ष जति विताएको राजनैतिक जीवनमा, त्यही कालखण्डमा थरी थरीका व्यवसायिक र पेशागत जीवनमा, त्यसपछी २२ बर्षे जागिरे जीवनमा र यो २२ बर्षको अवधीमा गरेका प्रचलित कानूनले दिएका केही आर्थिक, शैक्षिक र सामाजिक संस्थामा जिम्मेवारी निर्वाह गर्दा कयौं अग्रज, साथीभाई र आफन्त भेटिनु स्वाभाविक नै थियो । पछिल्लो १० बर्षलाई छोड्ने हो भने –त्यसभन्दा अघि माथी उल्लेखित बृहत र शुक्ष्म सामाजिक संस्थाहरुमा हुने असहमतिहरु सिमित घेरा भित्र प्रकट हुन्थे, अनि सरोकारवालाहरु वीच छलफल हुँदै सहज तरिकाबाटै समाधान हुने गर्दथे तर आज परिस्थिति र परिवेश फरक बन्दै गएको आफनै तितो अनुभूति छ ।हिजो आफुसंग असम्बन्धित बिषयहरुको बहस “रहर” को बिषय मात्र हुन्थ्यो । तर आज हरेक बिषयहरु आफुसंग सम्बन्धित होस वा नहोस – केही क्रिया प्रतिक्रिया जनाईएन भने पछाडी परिहालिन्छ कि भन्ने रोगी मानसिकताबाट व्यक्ति ग्रसित छ, अनि बनेको छ –सामाजिक संजाल घृणा र निन्दाको मैदान । अहिले सामाजिक संजालमा व्यक्त हुने तथ्यहिन र मिथ्या बहस “अरुका लागि अपमानित शब्द पोखेर आफु महान बन्ने”, “म बाहेक अरु सबै खरावभनेर खुइल्याउने” प्रवृतिका कारण  “विरोधको संस्कृति” विकासका लागि उर्वर भूमी बनेको छ ।

ओपेरा स्टार जान पियर्सले आफ्नै जीवनको एक सन्दर्भमा भनेका थिए “दुबैजना चिच्याउँदा वा नियन्त्रण बाहिर जाँदा कुनै संबाद हुने सक्दैन किनकी त्यो वेला होहल्ला मात्र हुन्छ ।”आज सामाजिक संजालमा देखिने “बहस” हेर्दा त्यस्तै लाग्छ । ति विषयहरु जुन बहसका लागि वेकार छन जस्तो लाग्छ, तिनीहरुले सद्भावलाई सयौ कोष पर ठेली दिन्छन । मित्रताको कसीमा खरो उत्रिएकाहरु र पटक पटक जीवनका कठिन समयमा सहयोग आदान प्रदान भएकाहरु पनि अनेकौ स्वार्थ र लाभको लालसामा विना सन्दर्भका “बहस” मा विवादित बनाउन कै लागि पटक पटक सामाजिक संजालमा “मिथ्याका बहस” पोख्दै घिसार्न खोजेको देख्दा शुरु शुरुको अनुभूति तितो भए पनि अहिले रमाइलो लाग्छ ।जीवनका त्यस्ता थुप्रै भोगाइहरु छन – जुन सद्भाव प्रकट गर्न “बेकारका बहस” बाट टाढै बस्न गरिएका कोशिसहरु मात्र  थिए। त्यसैले एक पटक सामाजिक संजाल मै लेखे अनि अहिले प्रतिक्रिया खै भन्नेहरुलाई पटक पटक भन्ने गरेको छु : “हतारमा गरिएको क्रियाले फुर्सदमा प्रतिक्रिया बिहिन बनाउछ – तर पनि हतारमा क्रिया गर्नेहरुलाई मेरो असिमित शुभ कामना छ ।”

लिंकनले एक सन्दर्भमा भनेको एक भनाई सम्झन्छु “आफुमा भएको दक्षतालाई उजागर गर्न लागि परेका मान्छेहरुलाई तर्क वितर्कमा लाग्ने फुर्सद नै हुँदैन ।” हुनै नसक्ने बिषयमा “आफ्नो श्रेष्ठता सावित गर्न अरुको प्रगतिको बाटो छेक्न सामाजिक संजालमा तर्क वितर्क गर्दै अघि बढ्नु सद्भाव हुनै सक्दैन ।” किनकी त्यो बहसका तर्कहरु “मिथ्या र कुरूप” हुन्छन ।

प्रकृति र मानिसको प्रवृति बुझ्न निकै कठिन छ ।एउटा सन्दर्भ जोडेर अव बिषयलाई टुंग्याउदा उचित होला । यही जागिरे जीवनको क्रममा मेरो प्रिय अनि आदरणीय नेतृत्वको उपस्थितिमा कुनै बेला एउटा सामुहिक छलफल राखिएको थियो । सामुहिक छलफलको बिषय थियो “ कार्य सम्पादन” । नेतृत्वले के सोचेर हो शुरुमा नै बोल्न लगाउनु भयो, अनि मैले मनोबैज्ञानिक जेस लेयरको नाम नलिई वहाँको भनाई राखे “प्रशंसा मानव हृदयलाई न्यानो पार्ने सौर्य प्रकाश जस्तै हो । यो विना हामी फुल्न र फक्रन सक्दैनौ । तर पनि धेरै जसो हामीहरु आफ्नै सहकर्मीहरुको चिसो आलोचनाका लागि सधै तयार रहन्छौ, जव कि हाम्रा सहकर्मी साथीहरुलाई प्रशंसाको न्यानो प्रदान गर्न चै सधै हिच्किचाउछौ ।” मेरो कुरा वहाँलाई ठिक लाग्यो कि लागेन थाह पाइन, तर वहाँले मेरो उद्दरण कृष्णले अर्जुनलाई दिएको मिठो उपदेश भनेर राखी दिनुभयो । मेरो छेउमा बसेको साथीले यो लाइन त गीतामा कहाँ रैछ मैले त पढेको रैनरैछु भन्नुभयो । जो यस्ता बिषयमा रुची राख्दैनन, उनीहरुले अहिले पनि त्यहि बुझी रहेका होलान र कति पटक कति जनालाई भनि सके पनि होलान । सामाजिक संजालमा प्रकट हुने कतिपय अभिव्यक्ति यसैगरी आउने गर्छन । छलफल सकिए पछी मलाई जिज्ञासा राख्ने सहकर्मी साथीलाई भने “ वहाँ मेरो अग्रज हो, वहाँलाई सार्वजनिक स्थलमा बेकारको बहसमा घिसारेर म प्रतिको सद्भाव घटाउन चाहन्न ।” किनकी यो “बहस बेकार छ” – “मिथ्या बहसबाट जोगिएर नै ठुलो उपलब्धी हासिल गर्न सकिन्छ ।” अस्तु ।