खुट्टिडाँगी वनको साधारण सभा :  सेल्फी पुल बनाउँदै, माछापालन आफैँ गर्ने


धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा सिमसार क्षेत्र मेचीनगर वडा नंं. ९ को २६ औँ वार्षिक साधारण सभा आगामी रणनीति तय गर्दै सम्पन्न भएको छ ।
वन समूहले उपभोक्ता लक्षित कार्यक्रमहरु माथि छलफल गर्दैं अगाडि बढ्ने योजना पारित गरेको छ । खुट्टिडाँगी वन मेचीनगरकै सानो तथा सुन्दर वनको रुपमा परिचित छ ।

चारैतिरबाट बस्तीले घेरिएको उक्त वनले पर्यटकीय सिमसार क्षेत्र सञ्चालन गर्दै आएको छ । रमणीय सिमसार क्षेत्रका कारण आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्न जाने गरेका छन् । वनको मुख्य आम्दानी स्रोत सिमसार क्षेत्रबाहेक अरु खासै छैन ।

वन समूहका अध्यक्ष टंकबहादुर नेपालको अध्यक्षता तथा मेचीनगर वडा नं ९ का वडाध्यक्ष कञ्चनकुमार तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष नेपालले बजेट अभावमा भनेजति काम गर्न नसकिएको बताएका छन् ।

अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा प्रदेश सरकारबाट प्राप्त रकमबाट सेल्फी पुल निर्माण सुरु गरिएको उल्लेख छ । प्रदेश सरकारले २० लाख रुपैयाँ छुट्टाएको छ । सिमसार क्षेत्रमा समूहले आफ्नै लगानीमा माछापालन योजना बनाएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, लागुऔषध प्रयोगकर्ताको अखडा बनेको वन परिसर सुरक्षा गार्डका कारण नियन्त्रणमा आएको दाबी गरिएको छ ।

साधारण सभा कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मेचीनगर अध्यक्ष जानुका ओली, मागुरमाडी सामुदायिक वन विट नं २ का अध्यक्ष विर्खबहादुर तामाङ, नेपाली कांग्रेस मेचीनगर वडा नं ९ वडा समिति सचिव विक्रम खतिवडा, वनका लेखा समिति संयोजक चुडामणि भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समूहकी उपाध्यक्ष इन्दिरा नेपालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सुष्मा कार्की डोलीले गरेकी थिइन् ।