सुबेदी बने पहिलो केसीसी च्याम्पियन


काँकरभिट्टा । नाइट चेस क्लबको आयोजनामा पहिलो केसीसी प्रेसिडेन्ट कप ओपन र्यापिड चेस च्याम्पियनसिप–२०८२ आज काँकरभिट्टा क्याम्पसको सभाहलमा आयोजित पुरस्कार वितरण समारोहसँगै सम्पन्न भएको छ ।

स्विस लिग प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा दमकका सुबेदी राजन प्रथम हुँदै च्याम्पियन बनेका छन् । उनले नगद १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । विराटनगरका राई उमेश दोस्रो हुँदै ७ हजार रुपैयाँ तथा बाइगुन्धुराका राई अबिरल तेस्रो स्थानमा रहँदै ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा मेचीनगरका रिजाल आदर्श चौथो, ताप्लेजुङका शेर्पा निमा पाँचौँ र धरानका राई हिमाल छैटौँ स्थानमा रहे ।

समारोहमा फरक क्षमता भएका खेलाडी, कोशी प्रदेश, मेचीनगर तथा अन्डर–१६ छात्र/छात्रा विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई छुट्टाछुट्टै सहयोग रकम, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
१० मिनेट प्लस १० सेकेन्ड समय नियन्त्रणमा खेलाइएको प्रतियोगितामा विभिन्न जिल्लाका खेलाडीहरूको उल्लेख्य सहभागिता रहेको थियो । प्रतियोगिताका निर्णायक डम्बर राई (बच्छना) रहेका थिए ।


समारोहमा कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ प्रमुख अतिथि रहेका थिए । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गोपाल तामाङ ले यस्ता प्रतियोगिताले युवालाई सकारात्मक दिशामा प्रेरित गर्नुका साथै चेस खेलको विकासमा टेवा पुग्ने बताए ।
मेचीनगर- ६ वडा कार्यालयको ५० हजार तथा स्थानीय समाजसवी, व्यापारीको आर्थिक सहयोगको प्रतियोगिता सम्पन्न भएको हो । नाइट चेस क्लबका अध्यक्ष विश्व विजय घिमिरेको अध्यक्षता मा सम्पन्न भएको हो भने कार्यक्रम महासचिव राजेश राउतले सञ्चालन गरेका थिए ।