बिन्ती साकोसको १७ औँ साधारण सभा : सदस्यहरु सम्मानित


मेचीनगर । श्री बिन्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । मेचीनगर–८ स्थित कञ्चनजंघा आधारभूत विद्यालयको सभाहलमा माइन्यूट प्रमाणिकरणसहित साधारणसभा सम्पन्न गरिएको हो ।
संस्थाले यसअघि सतिघट्टा, श्रृजनाचोक, नकलबन्दा र टोकला बगान क्षेत्रमा इकाई साधारणसभा सम्पन्न गरिएको थियो । संस्थाका अध्यक्ष विकेन्द्रकुमार धिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बचत तथा ऋण सहकारी संघ कोशीका कोषाध्यक्ष विश्वेश्वरप्रसाद भट्टराई प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा मेचीनगर–८ का वडा अध्यक्ष गिरीराज धमला, वडा सदस्य विष्णु भट्टराई, न्यायिक समिति मेचीनगरका सदस्य कुन्दन निरौला, नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष माया प्याकुरेल, संस्थाका संस्थापक अध्यक्ष दशरथ खडियालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाले किसानहरूका लागि सहुलियत दरमा अनुदानको रासायनिक मल तथा बिउबिजन बिक्री–वितरण गर्दै आएको छ । साथै, सदस्यहरूका लागि मोबाइल बैंकिङ सेवा पनि सञ्चालनमा रहेको छ ।
कार्यक्रममा उत्कृष्ट बचतकर्तातर्फ शुभकुमारी राई र रजनी तिर्की, असल ऋणीतर्फ श्यामकुमार विश्वकर्मा र उमा मगर तथा उत्कृष्ट कर्मचारीका रूपमा शोभा मगरलाई नगदसहित सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो । अध्यक्ष धिमालले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका व्यवस्थापक आरती उराँवले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सहव्यवस्थापक किशोर उपरकोटीले गरेका थिए ।
२९ जना शेयर सदस्यबाट २९ हजार रुपैयाँ शेयर पूँजी संकलन गरी स्थापना भएको संस्थामा हाल २ हजार १० जना सदस्य आबद्ध छन्‌ । संस्थाको शेयर पूँजी ५२ लाख १२ हजार ८० रुपैयाँ पुगेको छ भने सदस्य बचत संकलन ३ करोड ६२ लाख ६ हजार ३१ रुपैयाँ रहेको छ । संस्थाको कुल ऋण लगानी ३ करोड १ लाख ७५ हजार ९ सय ६३ रुपैयाँ रहेको छ ।