झापा नेशनल स्कुलका विद्यार्थीले बनाए टेलिस्कोप


मेचीनगर । झापाको मेचीनगर-७ मा रहेको झापा नेशनल स्कुलका विद्यार्थीहरूले टेलिस्कोप बनाएका छन् ।विद्यार्थीहरुले स्थानीय स्रोत साधनको प्रयोग गर्दै टेलिस्कोप निर्माण गरेका हुन् । विज्ञानमा रुचि राख्ने विद्यार्थीहरूको टोलीले विद्यालयको प्राविधिक सहयोगमा यो टेलिस्कोप तयार पारेका हुन् ।
कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूले केही साता अगाडिदेखि टेलिस्कोप बनाउन लागि परेका थिए । स्कुलका प्रध्यानाध्यापक कमल भेट्वाल र शिक्षकहरुको सहयोग प्राप्त भएपछि उनीहरुले टेलिस्कोप बनाउन सफल भएका छन् । विद्यार्थीहरुले लेन्स, पाइप, माउन्ट र अन्य सामग्रीहरु भने स्थानीय स्रोत र साधनहरु प्रयोग गरी बनाएका हुन् ।
विद्यालयका को अडिनेटर अनुप सुवेदी का अनुसार विद्यार्थीहरूले रातको समयमा चन्द्रमा र ताराहरू अवलोकन गर्न सक्ने क्षमताको टेलिस्कोप तयार पारेको बताए । उनका अनुसार यो कार्यले विद्यार्थीमा वैज्ञानिक सोच विकास गर्न ठूलो मद्दत पु¥याएको छ ।
बिहिबार विद्यालय परिसरमा पत्रकार सम्मेलन गरी विद्यार्थीहरूले आफैंले बनाएको टेलिस्कोप प्रदर्शन गरेका थिए । टेलिस्कोप बनाउन कक्षा ९ का निर्देश ढुङ्गाना, हार्दिक कट्टेल र एन्जिला आचार्य लागि परेका थिए ।
उनीहरुले भने ‘पहिलो पटक आफैंले बनाएको टेलिस्कोपबाट चन्द्रमा हेर्दा निकै उत्साहित भएका छौँ । यसै टेलिस्कोप मार्फत सौर्यमण्डलका अन्य ग्रहहरूबारे पनि बुझ्नेछौँ ।’
विद्यालयका प्रधानाध्यापक कमल भेट्वालले विद्यार्थीहरूको सिर्जनात्मकतालाई प्रोत्साहन गर्न आगामी दिनमा यस्ता परियोजनाहरूलाई अझै विस्तारित गरिने बताएका छन् । उनले भने विद्यार्थीको क्षमता अनुसार स्कुलले सहयोग गर्नेछ ।
यो टेलिस्कोपलाई नेकपा एमाले प्रदेश कमिटिले भोली शनिबारबाट आयोजना गर्न लागेको विज्ञान प्रदर्शनीमा समेत सहभागी गराइने भेट्वालले बताए ।

विद्यालयले तीन वर्ष अघि रोबोटिक्स फेयर’ समेत आयोजना गरेको थियो । विद्यार्थीहरुले बनाएका बिभिन्न किसिमका २० वटा रोवट तथा इलेट्रोनिक साइकल प्रदर्शनमा राखिएको थियो । विद्यार्थीहरुले यन्त्र जडित ई–साइकल समेत बनाएका थिए ।  विद्यालयले विज्ञानका बिभिन्न प्रयोगहरुमा सफलता हासिल गर्न थालेपछि विद्यालय तथा विद्यार्थी र अभिभावकहरु उत्साहित बन्न थालेका छन् ।