विद्या विकास एकेडेमीले कक्षा ११ सञ्चालन गर्ने


बाहुनडाँगी । झापाको मेचीनगर–४ मा अवस्थित श्री विद्या विकास एकेडेमीले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ को अध्यापन औपचारिक रूपमा सञ्चालनमा ल्याउने घोषणा गरेको छ । प्रारम्भिक चरणमा एकेडेमीले व्यवस्थापन संकायमा अध्यापन गराउने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
एकेडेमीले पत्रकार सम्मेलन गर्दै कक्षा ११ को औपचारिक सुरुवातको जानकारी गराएको हो । कार्यक्रममा मेचीनगर–४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, झापा जिल्ला शिक्षक संघका अध्यक्ष तोयानाथ दाहाल, संघ संस्थाका प्रनिनिधि, अभिभावक तथा अन्य शिक्षा क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका निर्देशक बद्री निरौलाले श्री विद्या विकास एकेडेमीले गुणस्तरीय शिक्षा प्रदान गर्दै सक्षम विद्यार्थी उत्पादन गर्ने लक्ष्य राखेको बताए । एकेडेमिक निर्देशक प्रोफेसर हेमराज कार्कीले विद्यालयले स्तरीय शैक्षिक वातावरण निर्माण गर्दै समसामयिक आवश्यकताअनुसार शिक्षण पद्धतिमा सुधार र नवप्रवर्तन गर्दै जाने जानकारी दिए ।
कक्षा ११ मा व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स विषयहरू सञ्चालनमा ल्याउने भएको छ । यी विषयहरू समावेश गर्नुको उद्देश्य विद्यार्थीहरूलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी, व्यवहारिक तथा प्राविधिक सीपहरूमा समेत दक्ष बनाउनु हो ।
होटल म्यानेजमेन्टमार्फत आतिथ्य व्यवस्थापन, ग्राहक सेवा, खाना तथा पेय पदार्थ सेवा, पर्यटन व्यवस्थापन लगायतका क्षेत्रमा ज्ञान र सीप प्रदान गरिनेछ भने कम्प्युटर साइन्स अन्तर्गत प्रोग्रामिङ, वेब डिजाइन, कम्प्युटर सिस्टम सञ्चालन, तथा सूचना प्रविधिमा आधारित व्यवहारिक तालिम दिइने विद्यालयले जनाएको छ ।
प्रोफेसर हेमराज कार्कीका अनुसार, ‘यी विषयहरू समावेश गर्नुको मुख्य उद्देश्य विद्यार्थीहरूलाई प्रतिष्पर्धी बनाउने र रोजगारीमुखी तथा उद्यमशीलताको बाटो खोल्ने हो ।’ यस कदमले विद्यार्थीको सीप विकास, आत्मविश्वास अभिवृद्धि, र भविष्यमा रोजगारी तथा उच्च अध्ययनका अवसरहरूमा पहुँच बढाउने विद्यालय प्रशासनको विश्वास छ ।
हाल ५२५ जना विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयले आधारभूत र माध्यमिक तहमा पहिल्यैदेखि सफल शैक्षिक यात्रा तय गर्दै आएको छ । कक्षा ११ सञ्चालनसँगै एकेडेमीले झापा जिल्लामै उत्कृष्ट उच्च माध्यमिक शिक्षाको गन्तव्य बन्ने विश्वास लिएको छ ।
विद्यालयले भर्ना प्रक्रिया चाँडै सुरु गर्ने जानकारी दिँदै इच्छुक विद्यार्थी तथा अभिभावकहरूलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।
विद्यालयका निर्देशक बद्रीको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनको सहजीकरण एकेडेमिक निर्देशक हेमराज कार्कीले गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रिन्सिपल विनोद प्रधानले गरेका थिए ।