रथखोला फुटबल एकेडेमीलाई हराउँदै बाहुनडाँगी अन्तिम चारमा


बाहुनडाँगी । बाहुनडाँगी  युवा क्लब विद्या विकास एकेडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कप २०८२ को अन्तिम चारमा स्थान पक्का गरेको छ । पेनाल्टी सुटआउटमा रथखोला फुटबल एकेडेमीलाई हराउँदै आयोजक सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको हो ।
मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा आयोजकले रथखोलालाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको थियो । योसँगै सेमिफाइनल समीकरण पुरा भएको छ । बुधबार पहिलो सेमिफाइनलमा शनिश्चरे एफसीले रेडहर्ष एफसी इलामको सामना गर्नेछ भने बिहीबार आयोजक बाहुनडाँगी युवा क्लब धाइजन एफसीसँग भीड्नेछ ।

४०–४० मिनेटको खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा आयोजकका विपलब श्रेष्ठ, नितेश राई, किस्मत लिम्बू, जोहन विष्ट र हेमन लिम्बूको प्रहार गोलमा परिणत भएको थियो । रथखोलका राजिव, अनमोल, सदिस, श्रृजलले गोल गरेका थिए भने अमनको बल बाहुनडाँगी का गोलरक्षक अभिषेक लिम्बूले पन्च गरेर बचाए ।

खेलको प्लेयर अफ द म्याच बाहुण्डाँगीका गोलरक्षक अभिषेक लिम्बू घोषित भए । उनले नगद २ हजारसहित ट्रफी प्राप्त गरे । खेलको प्लेयर अफ द म्याचको रकम सौजन्य निरज बोगटीले गरेका हुन् । प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले रु ६१ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले दुई हजार, प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टले रु १५ हजार, उत्कृष्ट गोलकिपर, बेष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, बेस्ट कोच, फाइनल खेलको उत्कृष्ट खेलाडी र इमर्जिङ प्लेयरले नगद ५–५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टको रकम सौजन्य आर्यना कृषि फर्मले गरेका छन् । बेष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, फाइनल खेलको उत्कृष्ट खेलाडी र इमर्जिङ प्लेयरको पुरस्कार सौजन्य दिवाकर कट्वालले गरेका छन् ।
प्रतियोगिताको मुख्य प्रायोजक विद्या विकास एकेडेमी रहेको छ भने सहप्रायोजकमा ग्लोबल कन्स्ट्रक्सन एण्ड वाटर ट्रिटमेन्ट प्रालि। र साउण्डलाइन्स रिक्रुटमेन्ट प्रालि रहेका छन् । प्रतियोगिताको संरक्षकमा मेचीनगर ४ नम्बर वडा कार्यालय र सहआयोजकमा बाहुनडाँगी जेसीज, आरआरटी मेचीनगर–४ रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहनेछ ।