‘चार सय किलोमिटर पदमार्ग बनाउँदैछौँ’
झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको पहलमा रू दुई अर्ब ४५ करोडको लगानी साझेदारीमा चार सय किलोमिटर लामो पर्यटकीय पदमार्ग निर्माण भइरहेको बताउनुभएको छ ।
विर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक तथा व्यापार महोत्सवको आज उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण र मौलिक संस्कृतिको जगेर्नाका लागि कोशी प्रदेशको पहाडी जिल्लामा चार वटा पदमार्गको निर्माण चालु आर्थिक वर्षमै सुरू गरिएको बताउनुभयो । पहाडी जिल्लालाई समेटेर मुन्धुम पदमार्ग, लालीगुराँस पदमार्ग, चिया पदमार्ग र महागुरू फाल्गुनन्द पदमार्गको निर्माण भइरहेको उहाँले बताउनुभयो ।
चार वटा पदमार्ग निर्माणमा रू दुई अर्ब ४५ करोड लगानी हुने जनाउँदै मुख्यमन्त्री कार्कीले त्यसका लागि स्वीट्जरल्यान्ड सरकारबाट रू एक अर्ब ३५ करोड अनुदान प्राप्त हुने जानकारी दिनुभयो । ती परियोजनामा नेपाल सरकारले रू २० करोड, कोशी प्रदेश सरकारले रू ४५ करोड र २९ वटा पालिकाले रू ४४ करोड लगानी साझेदारी गर्ने उहाँको भनाइ छ ।
चालु आव २०८१–०८२ को साउनदेखि काम सुरू भइसकेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले विसं २०८५ को साउन महिनाभित्र चारवटै पदमार्गको निर्माण सम्पन्न हुने लक्ष्य राखिएको बताउनुभयो । इलामको सूर्योदय नगरपालिकामा बन्ने चियाबारी पदमार्ग १९ किलोमिटर लामो हुने, पाँचथरको फिदिमबाट इलामको सन्दकपुरसम्म छवटा पालिका जोड्ने महागुरू फाल्गुनन्द पदमार्ग ६८ किलोमिटर लामो हुने, तेह्रथुमदेखि खोटाङसम्मका पहाडी जिल्ला जोड्ने लालीगुराँस पदमार्ग एक सय ६० किलोमिटर लामो हुने र उदयपुरदेखि भोजपुर, सङ्खुवासभा र खोटाङ जोड्ने मुन्धुम पदमार्ग एक सय ६८ किलोमिटर लामो हुने उहाँले जानकारी दिनुभयो ।
कोशी प्रदेशमा कृषि, पर्यटन र व्यापारको ठूलो सम्भावना रहेको हुँदा २०८२ साललाई कोशी पर्यटन वर्षको रूपमा मनाउने प्रदेश सरकारले घोषणा गरिसकेको मुख्यमन्त्री कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा पहाडलाई अब उजाड, बन्जर र बाँदरको राज्य हुन दिइने छैन ।”
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले लगानी भित्र्याउने लक्ष्यका साथ लगानी सम्मेलन गर्न लागिरहेको र सम्मेलनमा कृषि, पर्यटनलगायतका क्षेत्रमा थुप्रै परियोजना सञ्चालनका लागि उल्लेख्य लगानी भित्र्याउने तयारी गरिएको बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले इलाम र सूर्योदयमा अन्तर्राष्ट्रिय चिया सम्मेलनको आयोजना हुने र त्यहाँ युरोप, चीन, भारतलगायतका मुुलुकबाट एक सय ५० भन्दा बढी चियाका व्यापारी भित्र्याउने प्रदेश सरकारको कार्यक्रम तय भइसकेको जानकारी दिनुभयो । पहाडबाट रित्तिदै गएको जनसङ्ख्यालाई पहाडतिरै फर्काउने र पहाडको उर्बर जमिनलाई कृषि र पर्यटनमा उपयोग गर्ने लक्ष्यका साथ प्रदेश सरकार अघि बढिरहेको जनाउँदै उहाँले बताउनुभयो ।
विर्तामोड उद्योग वाणिज्य सङ्घको आयोजनामा आज सुरू भएको विर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव माघ १९ गते समापन हुने महोत्सव आयोजक समितिका संयोजक विशाल थापाले जानकारी दिनुभयो । महोत्सवमा नेपालका स्थानीय उत्पादनसहित भारत, बङ्गलादेश र भुटानका उत्पादन बिक्रीका लागि राखिएका छन् ।
बिर्तामोड । झापा ११ एफसीले भारतको सिक्किममा जारी...
झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश...
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...