मेचीनगर शिक्षा शाखाको लापरबाही : विद्यार्थीले अझै पाएनन् पुस्तक


मेचीनगर । झापाको मेचीनगर नगरपालिका भित्र अध्ययन गर्ने हजारौं विद्यार्थीहरुको शैक्षिक हकसम्बन्धीको अधिकार माथि सम्बन्धित निकायले नै गम्भीर खेलबाड गरेको पाइएको छ।

शैक्षिकसत्र शुरु भएको पाँच महिना बितिसक्दा समेत विद्यार्थीहरुले “हाम्रो मेचीनगर” नामक पुस्तक पाएका छैनन् । नगर शिक्षा शाखाले नगरका प्रत्येक विद्यालयमा अनिवार्य विषयका रुपमा अध्यापन गराउने गरि सुचारु गरेको उक्त पुस्तक नै विद्यार्थीहरुले हालसम्म पनि नपाएको भेटिएको छ।

संविधान प्रदत्त शिक्षा सम्बन्धी आधारभूत तथा माध्यमिक तहसम्मको हक सुनिश्चित गर्न स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ ९ञ० ले २३ वटा अधिकार स्थानीय तहको सरकारलाई दिएको भएपनि कतिपय स्थानीय तहको लापरबाहीले हजारौं विद्यार्थीहरुको शैक्षिक हकअधिकार हनन भएको छ।

नेपालको संविधानको धारा ३१ मा उल्लेखित शिक्षा सम्बन्धी हकले हरेक नागरिकको मौलिक हकका रूपमा शिक्षालाई सुनिश्चित गरेको भएपनि स्वयं सरोकारवाला निकायले नै विद्यार्थीहरुको मौलिक हकमाथि गम्भीर लापरबाही गरिरहेका छन् भने विद्यार्थीहरुको भविष्यमाथि समेत खेलबाड गरिरहेका छन्।

प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक,
प्रत्येक नागरिकलाई आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क शिक्षा तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने हक,पाठ्यपुस्तक, अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुन बमोजिम निःशुल्क उच्च शिक्षा प्राप्त गर्ने हक लगायतका विषय उल्लेख गरिएपनि मेचीनगरका अधिकांश विद्यालयमा विद्यार्थीहरु पुस्तकबाट बञ्चित हुन पुगेका हुन्।

मेचीनगरकै एक विद्यालयका प्र.असँग यस विषयमा कुराकानी गर्दा उनले यो नगर शिक्षा शाखाको लापरबाहीले विद्यार्थीहरुको भविष्यमाथि खेलबाड भइरहेको र विद्यार्थीहरुले किनेर पढ्छु भन्दा पनि पुस्तक नपाइएको गुनासो गरे ।

नगरकै अर्को माध्यमिक विद्यालयका प्रअले शिक्षा शाखाले पुस्तक छपाउन नसक्ने भए विद्यार्थीहरुले बजारमा किनेर पढ्न पाउने गरीको व्यवस्था गरिनुपर्ने तर विद्यार्थीको भविष्य अन्योल बनाउन नहुने बताए ।

यस विषयमा एक विषयगत शिक्षक सँग हामीले जिज्ञासा राख्दा पुस्तक अभावका कारण विद्यार्थीहरुलाई होमवर्क गराउन तथा कक्षाकोठामा पढाउन समेत असहज भएको बताए । विद्यार्थीहरुलाई समयमा पुस्तक उपलब्ध नहुँदा विद्यार्थी र शिक्षकलाई नै असहज भएको उनले बताए ।

यता मेचीनगर शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारीले कक्षा १ देखि ८ सम्म “हाम्रो मेचीनगर” भन्ने पुस्तक पढाइँदै आएको र विगतका वर्षहरूमा बजेट अभाव भएको कारण पुस्तक छाप्न नसकिएको बताए । भण्डारीका अनुसार अहिले कक्षा ४ र ५ का विद्यार्थीलाई पुस्तक उपलब्ध गराइएको छ भने अन्य कक्षाका विद्यार्थीहरुले ५ महिना बितिसक्दा समेत पुस्तक पाएका छैनन् ।

विद्यार्थीहरुले पुस्तक नपाएपनि विद्यालयका विषयगत शिक्षकहरुलाई “हाम्रो मेचीनगर” भन्ने पाठ्यपुस्तक पढाउने तरिका , सामाग्री खोजी गर्ने तरिकाहरु सिकाइएको र विद्यार्थीहरुमा समेत अरु विषयमा भन्दा यो विषयमा सिकाइ बढोत्तरी भएको र राम्रो भएको अनुभव रहेको भण्डारीले बताए ।

विद्यार्थीहरुले यो वर्ष किताब पाउने सम्भावना समेत नरहेको बुझिएको छ। पुस्तक लेखन तथा तयारीका कामहरु नसकिएको कारण अघिल्लो वर्ष पुस्तक नछापिएको र अब निजी कम्पनिहरुसँग सहकार्य गरेर निजी विद्यालयको लागि अरु पाठ्यपुस्तक जस्तै खरिद गर्नुपर्ने गरि र सामुदायिक विद्यालयहरुका लागि निःशुल्क उपलब्ध हुने गरि तयारी गरिने भण्डारीले बताए ।