एचएमसीकाे चार बर्ष : भारतिय पर्यटककाे पहिलाे गन्तव्य


मेचीनगर । पूर्वको सफल उद्योग मात्र होइन नेपाल र भारतमा नै नमूनाको रुपमा पहिचान बनाउँदै गरेको मेचीनगरको पाँचतारे होटल मेची क्राउनले अर्को सुविधा सम्पन्न भवनबाट पनि थप सेवा विस्तार गरेको छ ।

होटल मेची क्राउनले शुक्रबार चार वर्ष पुरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित बार्षिकोउत्सव तथा नयाँ थप सुविधा सम्पन्न भवनको उद्घाटन कार्यक्रममा सञ्चालकहरुले पूर्वकै व्यापारिक उद्योगका रुपमा पहिचान बनाउने उद्घोष गरेका हुन् ।
होटल मेची क्राउनका अध्यक्ष एवम् सञ्चालक पवित्रकुमार कार्कीले सुरुमा स्थापना गर्दा जोखिम मोलेर होटलमा लगानी गरेको दावी गरे । उनका अनुसार योजना बनाएर होटल चलाएपछि अहिले पपुलर भएको छ । सञ्चालक कार्कीले विजनेश राम्रै रहेको बताए । नेपाल र भारतका ठुला घराना परिवारका नागरिकहरु विवाह, सेमिनार, मनोरञ्जन र क्यासिनो खेल्न आउने गरेका छन् ।

अर्का सञ्चालक बलराम सापकोटाले सरकारलाई बार्षिक ६ करोड २५ लाख रोयल्टी तिर्दै गरेको जानकारी दिए । नयाँ बनिएको थप भवनसहित २१५ वटा सुविधा सम्पन्न रहेको कोठालाई आगामी दिनमा ५०० वटा कोठा पुर्याउने लक्ष्य रहेको उनले बताए ।

उनले देशभित्र रहेका साना–ठुला क्यासिनोलाई एउटै प्रकृतिमा नहेर्न आग्रह गर्दै होटल र क्यासिनोको नियम बनाउन राज्यलाई खवरदारी गरेका छन् । होटलमा हिजोराति भएको बार्षिकोउत्सव कार्यक्रममा स्थानीय, प्रदेश र संघीय सरकारका पूर्व मन्त्रीदेखि बहालवाला मन्त्री, राज्यमन्त्री, सांसद, पार्टीका नेता तथा कार्यकर्ता, बैंकर्स, उद्योगपति र सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बार्षिकोउत्सवका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले ४०÷४५ वर्षअघि बनेका ऐन, कानूनहरुले गर्दा समस्या भएको बताएका छन् । उनले क्यासिनो नियमावली २०८१ बन्दै गरेको जानकारी गराए । क्यासिनो नियमावली सुधार गरेर लाने उनको दावी छ ।

कार्यक्रममा पूर्व मन्त्रीहरु दिपक गिरी, प्रेम आले, किसानकुमार श्रेष्ठ, गोविन्द बद्री, सांसद एलपी साँवा, संविधान सभा सदस्य दिपक कार्की, नेपाल सरकारका कानून सचिव उदय सापकोटा, व्यवसायी विकास राना, पाँचखाल नगरपालिकाका मेयर महेश खरेल लगायतले होटल मेची क्राउनको बारेमा चर्चा गरेका थिए ।

सोही अवसरमा स्थापनाकालमा होटललाई लगानी गरिदिने इन्भेष्टमेन्ट बैँकका सिइओ ज्योति पाण्डेलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । बार्षिकोउत्सव कार्यक्रमको होष्ट सहाना बज्रचार्यले गरेकी थिइन् ।

झापाको भद्रपुर विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटर दुरीमा रहेको यो होटल २०७८ साल वैशाख १ गतेबाट सञ्चालनमा आएको हो। होटल मेची क्राउन एक सय चार रोपनी क्षेत्रमा फैलिएको छ। ७० प्रतिशत जमिनमा हरियाली बगैंचा बनाइएको छ।

मेची क्राउनका डिलक्स कोठामा बस्न दिनको दस हजार रूपैयाँ तिर्नुपर्छ। यसमा दुई जनासम्म बस्न सकिन्छ। भिला कोठाको दिनको १८ हजार रूपैयाँ पर्छ। त्यस्तै स्विटको ५० हजार रूपैयाँ तिर्नुपर्छ। यो शुल्कमा ब्रेकफस्ट समावेश हुन्छ।

खानपिनका लागि तीन वटा रेस्टुरेन्ट छन्। स्विमिङ पुल, जिमहल, स्पा, पार्लर सुविधा पनि छ। होटलमा हेलिकप्टर अवतरण गर्ने हेलिप्याड बनाइएको छ। तीन हजार मान्छे अट्ने क्षमताको ब्यांकेट र तीन वटा सेमिनार हल छन्।

बिहे भोज तथा समारोह गर्न करिब दुई हजार मान्छे अटाउने सभाहल छ। यहाँ आउने सवारीका लागि पर्याप्त पार्किङ व्यवस्था रहेको छ।
’अहिले हामीकहाँ भोजहरू भइरहेका छन्। पहिले–पहिले स्थानीयहरू राम्रो बिहे भोज गर्न भारततिर पुग्नुपर्ने स्थिति थियो। अहिले हामीले त्यो सुविधा दिएका छौं। बरू भारतीहरू नै पार्टी गर्न यहाँ आइरहेका छन्,’ सापकोटाले भने, ’एकै पटक चार वटासम्म बिहे भोज गराउन मिल्ने हल हामीसँग छ।’

नेपालीको खर्च गर्ने क्षमता बढ्दै गएकाले बिहे, समारोह गर्न र स्वदेशी तथा विदेशी संस्थाका कार्यक्रमका लागि उपयुक्त हुने गरी होटलले पूर्वाधार तयार गरेको छ।