कृषिमा फड्को मार्दै मेचीनगर


मेचीनगर । झापाको पूर्वी क्षेत्रमा रहेको नगरपालिका हो, मेचीनगर । देशकै ठुलो नगरपालिकाको रुपमा परिचित यो नगरमा पूर्वमा मेची खोला र उत्तरमा चुरे क्षेत्र रहेको छ । कृषिको हिसाबले उर्वर मानिने यो क्षेत्रमा लगभग ७ हजार हेक्टरमा खेती हुँदै आएको छ । यहाँको मुख्य खेती भनेको धान, मकै, तोरी हो । सागसब्जी, मौसमअनुसारका फलफूल उत्पादन गरेर पनि मनग्ये आम्दानी गर्न सकिन्छ ।

नेपाल कृषिप्रधान देश हो । नेपालमा ७५ प्रतिशत मान्छे कृषिमा निर्भर भएको तथ्यांकले देखाउँछ । आधुनिक प्रविधिसँगै आएका उपकरणको प्रयोगले खेती गर्न पहिलाको तुलनामा धेरै सजिलो बनेको छ । पहिला राँगागोरु जोत्नुपर्ने बाध्यता थियो, अहिले ट्र्याक्टरले जोतेर खेती गर्न थालिएको छ । समयको परिवर्तनसँगै सबै कुरामा परिवर्तन भयो । खेती भन्ने बितिक्कै निराश हुने समय थियो । धेरै मेहनत गरे पनि आम्दानी कम हुने, अझ खडेरी परे अनिकाल नै भोग्दै आएका किसानले अहिले भने केही राहत महसुस गरेका छन् ।

गाउँमा खेतीपातीमा धेरै दुःख हुने, आम्दानी कम हुने भन्दै खेती गर्न मनै मरेको धेरै सुनिन्थ्यो गाउँघरमा । तर, अहिले कृषकले त्यस्ता समस्या भोग्नु परेको छैन । नयाँनयाँ प्रविधिको प्रयोग, कृषि विज्ञहरुको परामर्श, उन्नत जातको बीउबिजन र कृषिसम्बन्धी तालिमका कारण कृषकहरु थोरै ठाउँमा धेरै आम्दानी गरिरहेका छन् ।

कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषिसम्बन्धी नयाँनयाँ कार्यक्रमहरु ल्याउँदै आएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीका अनुसार खेतीपातीबाट निराश बनेका किसानहरूलाई हौसला दिन किसानलाई अनुदानको व्यवस्था गरिएको छ । मेचीनगर क्षेत्रमा हुने बालीहरूलाई उत्पादनसँग जोड्दै किसानलाई आत्मनिर्भर बनाउनुको साथै कृषि क्षेत्रको व्यवसायीकरणमा वृद्धि गर्ने लक्ष्य लिएको बुढाथोकीले बताए ।

कृषि अनुदान

यस वर्ष पनि कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले ३५ लाख रुपैयाँ कृषि अनुदान वितरण भएको छ । विपन्न, दलित तथा पिछडिएका वर्गलाई लक्षित गरी वितरण गरिएको हो । सामुहिक खेतीलाई पनि प्राथमिकतामा राखेर आवश्यक प्रक्रिया पूरा गरेकालाई समेत अनुदान दिएको मेचीनगर कृषि शाखाले जानकारी दिएको छ ।

जसमध्ये नगरपालिकाको तोरी खेती प्रवर्धन कार्यक्रम प्रभावकारी बनेको छ । आर्थिक वर्ष ०८०र०८१ मा नगरका १५ वटै वडाका किसानलाई तोरी खेती प्रवर्धन कार्यक्रमअन्तर्गत वडाबाट सहभागी ८३३ किसानलाई अनुदानबापत २६ लाख ८३ हजार ५० रूपैयाँ उपलब्ध गराइएको कृषि शाखाले जनाएको छ ।

उन्नत जातको बीउबिजन

स्थानीय सरकारको सहयोगमा कृषकले उन्नत जातको बीउबिजन सहजैसँग आधा मूल्यमा उपलब्ध गराएको छ । सिजनअनुसार मकै, तोरी र धानको बीउ सबै वडामा वितरण गरिरहेको छ । मेचीनगर–९ निवासी धनमाया पान्डे भन्छिन्, ‘घरमा भएको बीउ धेरै वर्षदेखि त्यही प्रयोग गरेकाले त्यसको उत्पादन क्षमता कम थियो । वडाबाट बीउ ल्याएर मकै लगाएदेखि पहिलाको तुलनामा २ गुणाले उत्पादन बढेको छ ।’

कृषि उपकरण

आधुनिक उपकरणको प्रयोगले कृषिको मोह बढ्न थालेको छ । धेरै वर्षदेखि खेती नलाएको जग्गामा अहिले खेती लगाउन थालियो । धान काट्न, धान झार्न मेसिनको प्रयोग हुन्छ । पहिला महिनौँ लगाएर छोड्याउनुपर्ने मकै अहिले केही मिनेटमा नै मेसिनले छोड्याँउछ । कृषकहरुका खेतीमा प्रयोग हुने उपकरणहरु वडागत रुपमा अनुदानस्वरुप वितरण भएका छन् ।

सिँचाइ

नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो । पहिले आकाशे पानीमा निर्भर रहेको खेती केही केही ठाउँमा खोला कुवाको पानी लगाउने गरिन्थ्यो । खडेरी परे बाली लगाउन नपाएर अनिकाल नै लाग्ने गर्थ्यो ।

तर, अहिले त्यो समस्या भोग्न बाध्य छैनन् किसान । स्थानीय सरकारले सिँचाइ गरेर खेतीबाट प्रशस्त उत्पादन होस् भनेर पम्पसेट ९बोरिङ० उपलब्ध गराएको छ । मेचीनगरमा आर्थिक वर्ष २०८०/०८१ मा मात्र १५ प्रतिशत लागत सहभागितामा २० वटा बोरिङ र २ वटा मोटर वितरण गरिएको कृषि विज्ञ टेकेन्द्र प्रधानले जानकारी दिए ।

त्यस्तै, मेचीनगर १५ का किसानलाई २० वटा बोरिङ वडाले वितरण गर्यो । वडाको आर्थिक वर्ष २०८०र०८१ को विभिन्न खर्च कटाएर किसानको २५ प्रतिशत लागत सहभागितामा बोरिङ वितरण गरिएको वडा अध्यक्ष राजन भट्टराईले जानकारी दिए ।

‘पानीको समस्याले धेरै खेत बाँझो रहने र लगाएको बाली पनि खटेरी परे उब्जनी नहुने कृषकको दुःख देखेर अन्य खर्च कटाएर बोरिङ बाडेको हौँ,’ उनले भने, ‘अहिले बाँडेको पर्याप्त भएको छैन । आउँदो वर्ष यसलाई पूरा गर्नुछ ।’

 

कृषि परामर्श

खेती लगाएर मात्र पुग्दैन । खेती लगाए पछि आउने विभिन्न समस्याहरुको समाधानका लागि पनि कृषक सचेत रहनुपर्छ । बाली कसरी लगाउने कति मलको प्रयोग गर्ने ?

किटनाशक औषधिको प्रयोगका विषयमा पनि जानकार हुन आवश्यक छ । त्यसका लागि कृषि विज्ञसँगको परामर्श आवश्यक पर्दछ । बालीमा रोग लागेमा विज्ञले हेरेर सल्लाह सुझाव दिनुपर्छ ।

मेचीनगर भौगोलिक र जनसंख्याको हिसाबले ठुलो पनि हो । यहाँ धेरै कृषि पेशामा नै निर्भर भए पनि कृषि विज्ञ चारजना मात्र छन् । कृषकले बोलाएको सबै ठाउँमा पुग्नसक्ने अवस्था छैन । भ्याएको जति ठाउँमा सकेसम्म गइरहेको कृषि विज्ञ टेकेन्द्र प्रधानले बताए ।

‘१५ वटा वडा छ १–१ जनाका दरले भए सबै किसानकहाँ पुग्न सकिन्थ्यो, चारजना छौँ, कहाँ कहाँ पुग्नु’, उनले भने । उनका अनुसार कृषि शाखाले विज्ञहरु ल्याउन माग गरे पनि अहिलेसम्म ल्याएको छैन ।

युवाको रोजाइमा कृषि

विदेशबाट फर्केर नेपालमै केही नयाँ काम गरौँ भन्ने हुटहुटी बोकेका दुई युवा हुन् लीला खनाल र हरि नेपाल । वैदेशिक रोजगारीका लागि खनाल पाँच वर्ष कोरिया गएका थिए । कोरियाबाट फर्केपछि उनी घडेरी व्यवसाय र कृषिमा लागेका थिए ।

नेपाल पनि विगतमा तीन वर्ष मलेसियामा वैदेशिक रोजगारी गरेर फर्किएका हुन् । विदेशमा रहँदा उनले मलेसियाको कृषि फार्मको अध्ययन गरेका थिए । विदेशबाट फर्केपछि मेचीनगरमा अमृत डेरी स्थापना गरेका उनले विगत चार वर्षदेखि आफूलाई कृषि व्यवसायमा केन्द्रित गरेका छन् ।

खनाल र नेपालले यसै वर्षदेखि साझेदारीमा मेचीनगरको वडा नम्बर १० र १५ मा जग्गा लिजमा लिएर ठुलो मात्रामा आधुनिक तरकारी खेती सुरु गरेका हुन् । दसगजासँग जोडिएको मेची नदीको बगरमा पर्ने मेचीनगर वडा नम्बर १५ मा दुईजनाले नेपाली बाबु स्मार्ट कृषि फार्म सञ्चालन गरेका छन् । खनाल र नेपालले १०८ बिघा जग्गा लिजमा लिएर सञ्चालन गरेको कृषि फार्ममा ५७ जना कामदारलाई नियमित रोजगारी दिइरहेका छन् ।

नेपाल र भारतको ९७ नम्बरको जंगे पिल्लर रहेको मेची नदीको बगरमा काँसघारी फाँडेर सुरु गरेको फार्ममा ११ बिघामा आलु लगाएर सुरु गरेका थिए । दुई हजार ३३२ क्विन्टल आलु फलेको थियो ।

आलु उत्पादन गर्दागर्दै टमाटरका बेर्ना तयार गरेर ७ बिघामा टमाटर लगाएको, १३ बिघामा खरबुजा, १ बिघामा भिन्डी, डेढ बिघामा करेला, फर्सी, लौका लगाएको र खेतीबाट आम्दानी भइरहेको सञ्चालक खनालले जानकारी दिए ।

युवा पुस्तालाई पनि कृषितर्फ आकर्षित गर्न र नेपालमा नै काम गरे आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण समेत बनेका खनाल र नेपालले अब पूर्णकालीन कृषि व्यवसायमा लाग्ने सोच रहेकोे बताए ।

बजारीकरण

मेचीनगरका सबै क्षेत्रमा बाटो पुगेको छ । कृषकले उत्पादन गरेको सागसब्जी, फलफूल बिक्री गर्न बजार लैजान सहज छ । उत्पादन गरेको सागसब्जी आफैँ बजारसम्म पुर्याएर किसानले बेच्न सक्छन् । घरसम्म पनि व्यापारी आएर किन्ने गरेकाले बजारीकरणको समस्या भोग्नु नपरेको किसानहरु बताउँछन् ।

माटो परीक्षण

खेती गर्न माटो मात्र भएर हँुदैन । भएको माटोको प्रकार कस्तो छ रु खेतीयोग्य छ कि छैन भनेर जान्न पनि त्यति नै आवश्यक हुन्छ । किसानको माटोमा कुन तत्वको कमि छ । कुन तत्व बढी छ भनेर पालिकाले १५ वटै वडामा निःशुल्क माटो परीक्षण गराएको छ ।

परीक्षण गरेको माटोमा कुन तत्वको कमी वा बढी भएर बालीमा असर गरेको छ भनेर किसानलाई सुझाएको छ । उपलब्ध भएसम्म केही औषधि समेत किसानलाई वितरण गरिएको छ । अम्लीयपन हटाउन कृषि चुनको प्रयोग गर्नुपर्ने हुन्छ, त्यसको व्यवस्थापन गर्न नगरपालिकाले नसकिरहेको कृषि शाखाले जनाएको छ ।

।। विनिशा शर्मा ।।