मेचीनगर एसईई : सामुदायिकतर्फ ३१ प्रतिशत उत्तीर्ण


इटाभट्टा । एसईई परीक्षा २०८० मा मेचीनगरका सामुदायिक विद्यालयतर्फ करिब ३१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । मेचीनगर शिक्षा युवा तथा खेलकुद शाखाले दिएको जानकारीमा नगरमा सामुदायिक विद्यालयबाट सहभागी १ हजार ५८ जना मध्ये ३२२ जनाले कक्षा ११ मा अध्ययन गर्न पाउने गरिको प्रारम्भिक नतिजा प्राप्त भएको छ ।

प्रारम्भिक चरणमा प्राप्त नतिजा हेर्दा सामुदायिकतर्फ केही कमजोर नतिजा प्राप्त भएको देखिएको नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले बताए । ‘यद्यपि केही विद्यालयको नतिजा सुधारोन्मुख देखिन्छ, शाखा प्रमुख भण्डारीले भने–‘हामी तथ्याङ्क संकलन गर्दैछौं, संस्थागत विद्यालयको समेत नतिजा शाखालाई प्राप्त भइसके पछि उत्तीर्ण प्रतिशत केही बढ्छ ।’

उत्तीर्ण प्रतिशतमा बाल कल्याण अघि

शिक्षा शाखाले उपलब्ध गराएको विवरणमा मेचीनगरका सामुदायिक विद्यालयतर्फ बाल कल्याण मावि मेचीनगर–५ ले उत्कृष्ट नतिजा प्राप्त गरेको छ ।

मेचीनगर शिक्षा युवा तथा खेलकुद शाखाले दिएको जानकारीमा बाल कल्याण माविबाट सहभागी विद्यार्थीको ७० प्रतिशतबढी विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयबाट सहभागी २७ मध्ये १९ जनाको नतिजा सफल आएको शिक्षा शाखाले जानकारी दिएको छ ।

त्यस्तै उत्तीर्ण विद्यार्थी प्रतिशतको आधारमा मेचीनगर–१ स्थित पवित्र मावि दोस्रो स्थानमा छ । विद्यालयबाट ५८।८२ प्रतिशत विद्यार्थी अर्थात सहभागी १७ मध्ये १० जना उत्तीर्ण भएका छन् । उत्तीर्ण प्रतिशतकै आधारमा मेचीनगर ३ स्थित जनता मावि तेस्रो स्थानमा छ । विद्यालयबाट सहभागी २९ मध्ये १४ अर्थात ४८।२७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

शिक्षा शाखाले दिएको जानकारीमा मेचीनगर–१४ स्थित बाल सुबोधनी माविका ३८ मध्ये १५ जना उत्तीर्ण भएका छन् । मेचीनगरमा सबैभन्दा बढी विद्यार्थी भएको धुलाबारी माविबाट सहभागी ३२६ मध्ये १२५ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्यसैगरी मेचीनगर–१३ स्थित शहिद दशरथचन्द माविका सहभागी ४९ मध्ये १६ जना उत्तीर्ण भएका छन् । मेची जनसाधारण मावि मेचीनगर–२ बाट कुल ४४ जनामा १४ जना उत्तीर्ण छन् ।

मेचीनगर–२ स्थित भानु माविबाट ५४ सहभागीमा १४ जना उत्तीर्ण हुँदा आदर्र्श मावि मेचीनगर–८ बाट सहभागी १२४ मध्ये ३२ जना उत्तीर्ण भएका छन् ।

सरस्वती बाल कल्याण मावि मेचीनगर–१२ का सहभागी ८४ मध्ये २१ जना उत्तीर्ण भएका छन् भने मेचीनगर–७ मा रहेको अरनिको माविबाट सहभागी ३३ मध्ये ८ जना उत्तीर्ण छन् ।

सरस्वती मावि मेचीनगर–४ बाट सहभागी १३ मध्ये ३ जना, मेचीनगर–१२ स्थित बलभद्र जनता माविबाट सहभागी ३८ मध्ये ७ तथा मेचीनगर–६ स्थित काँकरभिट्टा माविका सहभागी ८८ मध्ये १६ जना उत्तीर्ण छन् ।

कवि शिरोमणी मावि मेचीनगर–९ बाट सहभागी ४२ मध्ये ४ जना, मेचीनगर–१५ स्थित ज्यामिरगढी माविबाट सहभागी ३३ जनामा ३ जना र पशुपति मावि मेचीनगर–४ बाट सहभागी १९ मध्ये १ जना उत्तीर्ण भएको नगर शिक्षा शाखाले जनाएको छ ।

मेचीनगरबाट १७ सामुदायिक र ३८ संस्थागत गरी ५५ विद्यालयका विद्यार्थी एसईई परीक्षामा सहभागी थिए ।