झापा ट्राफिकको ‘लापसे जाँच’ अभियान


काँकरभिट्टा ।  सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको लागू पदार्थ सेवन परीक्षण लापसे जाँचलाई झापामा तिब्रता दिंदै लगिएको छ । सार्वजनिक यातायातका चालकले लागू पदार्थ सेवन गरेर सवारीसाधन चलाउने गरेको गुनासो बढेसँगै ट्राफिक कारबाही तीव्र पार्न अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मादक पदार्थ सेवन गरे नगरेको परीक्षण गर्दै आएको ट्राफिक प्रहरीले लागू पदार्थ सेवनका कारण पनि दुर्घटना बढेको ठहर गर्दै लापसे परीक्षण अभियान सञ्चालनमा तिब्रता दिंइदै लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नबराज न्यौपानेले जानकारी दिए ।
यसै क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले काँकरभिट्टा पोष्टको समन्वयमा मंगलवार मेचीनगर–७, प्यारीभिट्टामा सार्वजनिक यातायातका चालक, सहचालकको लागू पदार्थ सेवन (लापसे) परीक्षण गरेको छ ।

नमुनाको रुपमा १० जना काठमाण्डौं जाने रात्री बस, सिटी सफारी, मोटरसाइकल चालक सहित सार्वजनिक यातायातका चालक र सहचालकको लापसे परीक्षण गर्दा ४ जनाले लागू पदार्थ सेवन गरेको पाइएको ट्राफिक प्रमुख न्यौपानेको भनाई छ । यसरी परीक्षणका क्रममा लापसे गरेका चालक र सहचालकहरुलाई कारबाहीका लागि इप्रका कांकरभीट्टा तथा लागु औषध नियन्त्रण ब्युरो पठाइएको जनाइएको छ । चाडपर्व नजिकिएसंगै भिडभाड हुने र दुर्घटनाको जोखिम पनि उत्तीकै हुने ठहर गर्दै प्रहरीले सक्रियता बढाएको हो ।

साथै, लापसे परीक्षण किट पनि पर्याप्त नहुंदा जति सुकै जुनै बेला परिक्षण गर्न भने सम्भव नभएको प्रमुख न्यौपाने बताउंछन् ।
किट महँगो रहेको हुँदा स्थानीय सरकार र विभिन्न सामाजिक संघसंस्थाहरुसँग समन्वय गरी किटको स्रोत जुटाउंदै परिक्षण गर्दै आएको न्यौपानेको भनाई छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी दिपक भारतीले सार्वजनिक सवारीको क्षेत्रलाई सुरक्षित बनाउन र बढ्दो दुर्घटना न्यूनीकरण गर्न अभियान फलदायी हुने अपेक्षा गरिएको बताए ।

उनले चालकले लागू पदार्थ र मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना बढिरहेको पाइएको हुंदा यो अभियानले दुर्घटना संगै अपराध अनुसन्धानमा सहज हुने बताए । ब्रेथलाइजर मेसिनको प्रयोगबाट गरिने चेकजाँचले सवारी चालकले मापसे गरे÷नगरेको पत्ता लाग्छ ।
तर, लापसे परीक्षण त्यत्ति सजिलो र कम खर्चिलो छैन । लापसे परीक्षणका लागि पहिले मानिसको पिसाब संकलन गरिन्छ ।
किटमा मानिसको पिसाब मिसाएर जाँच गर्दा लागू पर्दाथ सेवन गरे/नगरेको पत्ता लाग्छ ।

पिसाबलाई किटमा मिसाएपछि रातो धर्का देखिन्छ । एउटा मात्रै धर्का देखिँदा लागू पदार्थ सेवन गरेको पुष्टि हुन्छ । अर्थात् रिपोर्ट पोजेटिभ आयो भन्ने मान्नुपर्छ । २ वटा राता धर्का देखियो भने लागू पदार्थ सेवन गरेको छैन भन्ने यकिन हुन्छ । त्यो रिपोर्ट नेगेटिभ हुन्छ । गत असार १९ गतेदेखि कोशी प्रदेशका १४ वटै जिल्लामा एकै साथ लापसे अभियान नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सञ्चालनमा ल्याएको थियो ।