रोपाइँ : एउटा स्मृति


समय चक्र यसरी घुम्छ कि, मानौं यो एउटा जाँतो हो अनि हामी मान्छे जातहरु त्यसमा पिसिने अन्नभित्र लुकिबसेका घुन प्रजाति !
साँच्चै यस्तै लाग्न थाल्यो अचेल त मलाई, किनकि जतिजति जाँतोको घुमाइ बढ्दै जाँदैछ, उतिउति घुनजस्तै महरु पिसिँदै गइरहेको अनुभव हुँदैछ । खासमा समय र जाँतोको कुरा निकाल्नु किन यहाँ, यतिबेला है ?
छ नि कुरा, बेला बर्खाको छ अनि काम खेतीको, कुरा निस्कियो चर्खाको । अब यो कुरा किन उप्किन्छ यहाँ भने, उही त हो रोपाइँ अनि सम्झना ।
रमाइलो रोपाइँ
त्यो रोपाइँ साँच्चै दामी हुन्थ्यो अहिले सम्झिँदा, पाँच छ वटा खोल्साखोल्सीले घेरेको हाम्रो गाउँ सर्लक्कै रातमाटे डाँडा हो । जहाँ किताबतिर लेखिने र देखिने जस्तो असार पन्ध्रबाटै हिलो खेल्ने, धान रोप्ने चलन थिएन, अहिले पनि हँुदैन । खेतीपातीको लागि मुख्य कुरा पानी नै नपलाउने, भएको कुलोमा पानी नै नकुद्ने भएकोले असार अन्तिमतिरबाट सुरु हुने रोपाइँ लगभग साउन अन्तिमसम्म नै चल्थ्यो । तर, आफ्नो गाउँमा रोपाइँ सुरु नभएर कहाँ ढुक्कसँग बस्न पाइने हो र अम्मुई उबेला हामीले भन्ने गरेको “रोज्कारी” मा मेलो कुदाउनेहरुले हामीलाई पनि कुदाउनसम्म कुदाउँथे । पछि पो थाहा भयो, रोज्कारी त रोजगारी रहेछ, अनि त्यो भनेको हाजिरामा काम गर्नु रहेछ । गाउँका गन्नेमान्ने रोज्कारीवालाहरुले पैसामा खेताला बेच्थे, अनि ती खेतालालाई चाहिँ पैसा हैन पर्म तिर्थे । आसपासका गाउँहरु तिरिङ, पाटापुर, देवीगन्जा, मेचीडाँगीसम्म मेलोमा पुग्नु, साथीहरूसँग दिनैभरि फिल्मको कहानी गर्नु, देशविदेशमा भएका अलि बढी चर्चामा रहेका घटना दुर्घटनाको विषयमा तँछाडमछाड गर्दै आफूलाई नै धेरै जानकारी भएको जस्तो सुनाउनु, साप्ताहिक रुपमा बज्ने रेडियो नाटकको गफ पनि चलचित्र हेरेँझैं गर्नु…. आहा ! अहिले याद गर्दा त कत्ति रमाइलो !
कुनै दिन असाध्यै चर्को घाम, कुनै दिन निरन्तर ओइरिने झरी, तर कहिल्यै थाकेनन् हाम्रा खुट्टाहरु । घाम लागे मेलोमा पस्नै डराउँथे पाइतालाहरु, उम्लिएसरी पानी हुन्थ्यो । मेलैमा साथीहरूसँग सल्लाह भइहाल्थ्यो बेलुकी कुन खोलामा पौडी खेल्न जाने ? झरी पर्दा चर्के कमिलाले जिउभरी रजाइँ गर्ने भैहाल्यो । खेती भन्नु पो सजिलो तर गर्न बहुतै गाह्रो है ? अब त चक्र घुमेर कहाँबाट कहाँ आइपुग्यो, हुनैपरे डिजिटल जमानाको भर्चुअल रोपाइँ हुन पो बाँकी जस्तो छ ।
फेरिएको फार्मिङ
फार्मरले फार्ममा उब्जाउने अन्न त अचेल विकसित हुँदै, स्वरुप फेर्दै आइरहेको छ भने फार्मिङ पनि फेरिने त अवश्य नै हो । मैले आज बिहानै मेलो हिँड्न ठिक्क परेकी बैनीलाई सोधेँ “बीउ काँड्न आउँछ ?” “आउदैन नि” उसको जवाफ । ओहो ! गाउँमा कृषिप्रति दिनहुँ बढ्दै गइरहेको निराशाले जन्माएको एउटा अवस्था पनि हो यो उदाहरण । पहाडे बहुल जातजातिको बसोबास भएको हाम्रो गाउँमा पहाडकै जस्तो अर्मपर्म गरेर धान रोप्ने प्रचलन थियो । चलन के पनि थियो भने, भोलिपल्ट रोपाइँ हो भने अघिल्लो दिन बिहान बीउ काँड्थ्यौँ । अनि बिहान बीउ काँड्न गयो, ९ बजे फर्क्यो, हतारहतार खाना खायो, लगत्तै कसको मेलो छ, घुम चेप्यो कुदिहाल्यो । “अचेल घुम को ओढ्छ हँ ?” बैनीसँगै राख्नु थियो जिज्ञासा, राखिहालेँ । “अहँ ओढ्दैन नि, खालि प्लास्टिक ओढ्छ” जवाफ थाहा हुने नै भयो । उहिले कसैले भोर्ला, सखुवाको पातको घुम ओढ्थे, हाम्रो चाहिँ प्रायः प्लास्टिककै घुम हुन्थ्यो । लु अहिले त घुम बोक्ने, ओढ्ने चलन पनि हराएछ गाउँमा, सबैभन्दा दुःखलाग्दो कुरा त घुम बुन्ने सीप, कला र परम्परा पो हरायो हगि ? बैनीसँगको कुराकानीमा हाजिराको कुरा नजोड्ने हो भने, यो महंगीलाई बेवास्ता गरेको भैजाला । दिनको चार सय रुपैयाँ चलेको रहेछ अचेल, हलगोरुको बाह्रसय पर्ने कुरा पनि उसैले सुनाई ।
यसैपालि सुनेँ मैले, गाउँमा निकैजनाले धान रोप्ने खेतमा बिरुवा लगाएछन् । बढ्दो महंगी, घट्दो उर्वरता, गाउँमा खेतीपाती करले मात्र भइरहेको थियो । भएको अलिकति पाखाबारीमा फलेको धानले नपुग्ने भएरै धेरैले खेती फेरेर सुपारी र चिया लगाए । बीउ, खेताला, मल, खाजाचिया, गोरु नभए ट्याक्टरको बन्दोबस्त अनि मेहनत सबैको हिसाब गर्ने नै हो भनेपनि घाटाकै कृषि हुन जाला । सोचाइ र गराइ फेरिएरै होला सायद, गाउँमा अहिले बर्खे चटारो अनुभव नै नहुने रहेछ । नत्र लम्पसार परेर फेन चलाएर सुतिरहेका घरका सदस्यहरुकै छेउमा म यी कुराहरू लेख्न कसरी पो भ्याउँथे होला ?
चेन्ज्ड चमेना
समाजको सिलाबरे थालमा सुख्खा चिउरा, छेउमा अलिकति चिनी अनि कालो चिया, पहिलाको चर्चित खाजा । लगातारको मेलो तनाइले भोकाएको ज्यानलाई त्यही खाजा पनि कम राहतको हुन्थेन । मुरुक्–मुरुक् चिउराचिनी चबाउँदै, चिया पिउँदै अझ कहिलेकाहीँ त चियाले भिजाउँदै पो खाइन्थ्यो है । कसैको रोपाइँमा त अलि पुरानो चिउरा पथ्र्याे क्याहो, तित्तो भएर जिब्रोको शक्ति नै गायब गरिदिनेसम्म हुन्थ्यो । फेरि उपाय नआउने कहाँ हो र हामीलाई, त्यही तितो चिउरालाई मज्जाले धोएर, चिनी अलि बढी थपेर पनि मुक््रयाइन्थ्यो नत्र कोही साथीको घर नजिकै छ भने, उसैकोमा भुटेर पनि भोकै त बसिन्थेन ।
यो कुराहरू सुनाउँदा “कथा” भइजान्छ अहिलेको पुस्तालाई । किन त ? गाउँमा अचेल चियाचमेना चेन्ज भइसक्यो नि । नजिकै होटल छ, खाजामा पार्सल भएर चाउमिन आउँछ, कि हुन्छ चाउचाउ मुराइ, कि रेडी छ चट्पटे । छोला भनिने मटरचनाको बाक्लो झोललाई हामी “घुघुनी” भन्थ्यौँ, त्योसँग चिउरा त उहिलेपनि एकाध रुपमा चलेकै थियो । अब अहिले गाउँको स्वाद फेरिएको छ, चलनमा चेन्ज आइरहेको छ, क्रयशक्ति चाहिँ हुनुपर्छ बाँकी त पूँजीवादले जुटाइहालेको छ ।


चटारो र चैन
साउने संक्रान्ति मनाउन गाउँ आएको बखत थुप्रै सालपछि गाउँको फेरिएको रोपाइँ चलनबारे थप अध्ययन गर्ने मौका मिल्यो । मान्छे संसारको जुनसुकै कुना पुगोस् तर बाल्यकाल र किशोरकाल बिताएको ठाउँको सम्झनाले हर चाडबाड अनि हर महत्वपूर्ण समयमा बेग्लै अनुभूति दिलाउने रहेछ । समयको चर्खा घुमाएर त्यही बेलामा लगेर रोकिहेर्दा, त्यो बर्खे चटारोको असाध्यै याद आउँछ । बिहान बीउ काँड्ने व्यस्तता, दिउँसो धान रोप्ने सिलसिला । नबिसाई बीस पच्चीस दिन धान रोप्न हिँडेपछि मैझारोको दिन बेलुकी पिउन पाइने लोकल कुखुराको सुप, त्यतिको स्वाद अहिलेको थुक्पामा कहाँ ?
हातखुट्टाका औंलाहरु हिलोपानीले खानु, नङ गाडिनु, कैंडा लाग्नु, ढाड दुख्नु त्यसबेलाका आम समस्याहरु थिए । बिमार र ओखती बराबर जान्ने हामी, नङ गाडिए चम्चामा खानेतेल तताएर च्वाइँय्य पार्दै चुहाउनु, कैँडा लागे तातोपानी र नुनले सेक्नु अहो ! ती दिनहरू ।
धामी, ज्योतिष, लामा आफैं भइहाल्थ्यौं हामी, कसैको मेलोमा सिमसिम पानी परिरह्यो भने, “यो घरमा को चैँ नाग वर्गको मान्छे छ हौ” भनिहाल्ने । अलि फूर्तिलो रोपाहारले मेलो सुरु गरे छरितो मेलो हुने विश्वास पनि सुन्नलायककै हो नि । ती सारा चटारो र थकानहरु सम्झेर कहिलेकाहीँ मनमनै सोच्थेँ म, “यो खेतीपातीको कामबाट चैँ कहिले पार लाग्नुहोला हौ छ्या !”
तर तिनै थकानहरु अहिले सम्झेर आनन्द लिने बहाना भएको छ, यसरी सबैलाई सुनाएर अझ खुसी हुने अवसर मिलेको छ ।
अब चैनको कुरा गरौँ, अहिले कतिसारो चैन गाउँमा ! न साउने खेतीको हतारो न खेताला हिँड्ने चटारो । कसै–कसैलाई मात्र धान रोप्न जाँदै गरेको देखियो नत्र भने गाउँलेहरु दिनैभरि घरमै सुतेर, गफ गरेर बिताएको देख्दा जमाना त बडो चैनको पो आएछ नि भनेजस्तो महसुस भयो । कसैलाई गर्मी भयो, मेची खोला खेल्न जाने, कसैलाई भोक लाग्यो, चट्पटे खान गइहाल्ने, हातहातमा स्मार्टफोन, धुरी–धुरीमा नेट, सायद खेतीपाती अब डिजिटलाइज्ड होला । “फोन चैँ कहाँ राख्नु हँ दिउँसो चैँ ?” उही बैनीलाई सोधेँ । “लादिनँ नि फोन त मेलोमा” भनी उसले ।
“ए, म त बा फेसबुक लाइभ गरेर पो धान रोप्छौ कि भनेर नि” मेरो सिधा शंका गराइले प्रविधिको बढ्दो प्रयोगलाई इंगित गर्न खोजेको थिएँ । अनि बैनीहरु तीनचार गह्रा मेलो तयार भइसक्दा पनि टिकटक हेर्दै बसेका जो थिए, गाउँमा अचेल ।
काँकरभिट्टा