थोप्लेविरानबाट सुरु भयो ‘हाम्रो जंगल’
मेचीनगर । सम्भवतः नेपालमै पहिलो पटक सामुदायिक वनमा आधारित चलचित्र बन्ने भएको छ । वनहरु समुदायमा हस्तान्तरण भएसँगै भए गरेका प्रगतिका कथामा आधारित चलचित्रलाई वृत्तचित्रको रुपमा ल्याउन लागिएको हो ।
‘हाम्रो जंगल’ नामक वृत्तचित्रको छायांकन झापाबाट सुरु भएको छ । ठूलो पर्दाको चलचित्र निर्देशक विजय केरुङले कथा तथा निर्देशन गरेको उक्त वृत्तचित्रको शुभमूहर्त मेचीनगरको थोप्लेविरान सामुदायिक वन परिसरमा गरिएको छ । निर्देशक केरुङ मेचीनगर निवासी हुन् । उनले निर्देशन गरेको माझीदाई, आमाको काख, हामी शरणार्थी चलचित्र हिट भएका थिए ।
तिनै सफल निर्देशक केरुङले सामुदायिक वनमा आधारित वृत्तचित्र बनाउन सुरु गरेका छन् । सामुदायिक वनका गतिविधिलाई कथामा समेट्न खोजिएको उनले बताए । ‘सामुदायिक वनहरु यहाँसम्म आइपुग्न उपभोक्ताको ठूलो हात छ,’ उनले भने, ‘यही सफलतालाई पर्दामा देखाउने जमर्को गरेको छु ।’
थोप्लेविरान वनबाट सुटिङ सुरु गरिएको उक्त वृत्तचित्रको शुभमूहर्त सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले नरिवल फुटाएर गरेका थिए । झापाको थोप्लेविरान, बाँसवारी, कालिका, जामुनखाडीलगायतका मनोरम क्षेत्रमा वृत्तचित्र छायांकन गरिनेछ ।

यस्तै, झापाको सुखानी, चितवनको सौराहा, नवलपरासी, सोलुलगायतका रमणीय जंगल क्षेत्रमा पनि छायांकन हुनेछ । करिब एक घण्टाको वृत्तचित्रको निर्मातामा विश्वमार्क लिम्बू छन् । वृत्तचित्र हाम्रो जंगल करिब ५० लाख रुपैयाँमा निर्माण हुने अनुमान गरिएको छ ।
हाम्रो जंगल वृत्तचित्रमा राष्ट्रिय कलाकारको पनि अभिनय रहनेछ । कलाकार हेमन्त बुढाथोकी, रामचन्द्र अधिकारी, सुरविर पण्डित, विपीन प्रसाईं, दिलीप योङ्हाङले अभिनय गर्ने छन् । कलाकार सुवास मेचे र समिता गिरी मुख्य पात्रमा छन् ।

यस्तै, स्थानीय कलाकारमा कृष्ण कोइराला, जानुका ओली, संगीता थापा, सीताराम लुंगेली, ढकनाथ घिमिरेलगायतको पनि अभिनय रहेको छ । समय अनुकूल भए पन्ध्र दिन भित्रमा सुटिङ सक्ने लक्ष्य राखिएको छ । वृत्तचित्र निर्माण पछि नेपालभरका सामुदायिक वन समितिलाई डकुमेन्ट्री उपलब्ध गराइने निर्देशक केरुङले जानकारी दिए ।
नेपालमा २२ हजार सामुदायिक वनहरु छन् । सरकारले २०५२ सालदेखि वनहरु समुदायलाई हस्तान्तरण गरेको थियो । समुदायको हातमा आएपछि सामुदायिक वनहरुले वन संरक्षण सँगसँगै उपभोक्ताको हितमा काम गर्दै आएका छन् ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...