बन्धक बनेका मेचीनगरका चार महिने शिशुको पत्रकार मोहन काजीको पहलमा उद्धार
झापा । उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनाइएका मेचीनगर-१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतवार उद्धार गरेर नेपाल ल्याइएको छ । आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट हस्पिटलमा लगिएको थियो ।
शिशुको अवस्था बुझ्न गएका पत्रकार मोहन काजीले उपचारमा लागेको खर्च १५ दिनभित्र तिर्ने कागजमा सही गरेपछि हस्पिटलले सुहानकी आमा शर्मिला चौधरीलाई शिशु फिर्ता दिएको हो । अक्सिजन सपोर्टसहित एम्बुलेन्समा नेपाल ल्याइएको शिशुलाई आइतवार राति नै थप उपचारका लागि विर्तामोडको बीएन्डसी हस्पिटलमा भर्ना गरिएको छ ।

शिशुलाई सिलिगुडीबाट उद्धार गरेर नेपाल ल्याइँदै ।
सिलिगुडीको हस्पिटलले उपचारमा लागेको ६ लाख ८ सय भुक्तानी नगरेसम्म बच्चा लैजान नदिने भन्दै शिशुलाई बन्धक बनाउँदै आएको थियो । हस्पिटलले उपचारमा ४ लाख ६८ हजार र औषधितर्फ १ लाख ३२ हजार ८ सय बिल देखाएको छ । शिशुकी आमा शर्मिला चौधरीले पारामाउन्ट हस्पिटलमा अहिलेसम्म २ लाख ८८ हजार बुझाइसकेको बताइन् । अब सो हस्पिटललाई तीन लाख १२ हजार बुझाउन बाँकी छ ।
शिशुको परिवारको आर्थिक अवस्थाबारे हस्पिटललाई जानकारी गराउँदा समेत चासो नदिइएपछि शिशु फिर्ता गराउन रकम तिर्ने कागजमा सही गरेको पत्रकार मोहन काजीले बताए । उनले भने ‘अरु केही उपाय नलागेपछि १५ दिनभित्र रकम बुझाउने कबुलियतनामामा सही गरेर शिशुको उद्धार गरेका छौं ।’

पत्रकार मोहन काजी
हस्पिटलका वरिष्ठ व्यवस्थापक पिन्टु रुस्तागीले तोकिएको समयमै बक्यौता नबुझाएमा घरसम्मै रकम असुल्न आउने चेतावनी दिदै नागरिकता प्रमाणपत्रको प्रतिलिपी समेत राखेको उनले बताए । हस्पिटलले बच्चा फिर्ता दिदा अक्सिजन सपोर्टमै राखिएको थियो । शल्यक्रिया गरेपछि पेट तथा पिसाब नलीमा लगाइएको पाइप नखुस्काइएको कारण बच्चाको अवस्था अझै पनि गम्भीर छ । शर्मिलाले उपचारमा आर्थिक सहयोग गरेर आफ्नो शिशुको जीवनरक्षा गरिदिन दाताहरुसँग अपिल गरेकी छन् ।
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...


