दान गर्न नथाक्ने असी वर्षीया आमा
मेचीनगर । सामाजिक क्षेत्रमा क्रियाशील दानवीर व्यक्तित्व चन्द्रमाया तिवारीलाई सम्मान गरिएको छ । मेचीनगर–९ स्थित स्वबोध साधना केन्द्र(बाल आश्रम) द्वारा डाँगीबारीमा आयोजित कार्यक्रममा ८० वर्षीया ज्येष्ठ नागरिक तिवारीलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि त्रिफला राष्ट्रिय पुस्तकालयका संस्थापक अध्यक्ष प्रेमप्रकाश फलाहारीले उनलाई दोसल्ला र खादा ओढाएर सम्मान पत्र प्रदान गरेका हुन् । फलाहारीले सम्मानित व्यक्तित्व तिवारीले विभिन्न स्थान पुगेर गर्दै आएको सामाजिक योगदान र उनको व्यक्तित्वको चर्चा गरेका थिए ।
‘धर्म कमाउन टाढा जानैपर्दैन, मठमन्दिर धाउनु मात्रै धर्मकर्म होइन’ स्वर्गाश्रम नेपालका प्रमुख तथा संस्थापक समेत रहेका उनले भने–‘स्वास्थ्य चौकी भवन बनाउन जग्गा दान गरेर तिवारी परिवारले स्वास्थ्य चौकीलाई तीर्थस्थलको उपमा दिएको छ ।’
जग्गा अभावमा स्वास्थ्य चौकी निर्माण हुन नसकिरहेकाबेला निःशुल्क रुपमा उपलब्ध गराउँदा उक्त जग्गा साझा र सबैले अपनत्व महसुस गर्ने भएको राष्ट्रिय धर्मसभा नेपालका पूर्वाञ्चल उपाध्यक्ष फलाहारीको भनाई थियो ।
नेपालको साविक ७५ जिल्ला खालीखुट्टै दुईपटक पदयात्रा गरेका उनले सामाजिक हितमा तिवारी परिवारले निर्वाह गर्दै आएको निःस्वार्थ सत्कर्म सबैका लागि अनुकरणीय र अविष्मरणीय रहेको टिप्पणी गरे ।
डाँगीबारी स्वास्थ्य चौकी तथा प्रसूति सेवा केन्द्रको भवन परिसरमा आयोजना गरिएको कार्यक्रममा विशिष्ट अतिथि बाह्रदशी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष रत्नप्रकाश योङ्हाङ, बाह्रदशी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार साह, डाँगीबारी स्वास्थ्य चौकीका प्रमुख हेमन्त लामिछाने, पूर्व प्रमुख रामनारायण शर्मा, सिनियर अनमी सुस्मिता मैनाली, सम्मानित व्यक्तित्वका छोरा पुण्यप्रसाद तिवारीलगायतले बोलेका थिए । त्यसक्रममा सम्मानित व्यक्तित्व तिवारीले प्रमुख अतिथि फलाहारीलाई त्रिफला राष्ट्रिय पुस्तकालयमा विद्युतीय पुस्तकालय सञ्चालनार्थ १० हजार रुपैयाँ प्रदान गरेकी थिइन् ।
सो अवसरमा बाह्रदशी गाउँपालिका ७ नम्बर वडा सदस्य तारा कार्की, डाँगीबारी स्वास्थ्य चौकी सञ्चालक समिति सदस्य कनकुमारी भूजेल, सम्मानित तिवारीका छोरा÷बुहारीहरु ज्ञानेन्द्र र सरिता, पुण्य र चम्पा, छोरी÷ज्वाईंहरु गौरामाया र तेजप्रसाद भेट्वाल, शान्ता र केशव सिटौला, तुलसा कडरियालगायतको उपस्थिति थियो ।
स्वबोध साधना केन्द्र (बाल आश्रम) का अध्यक्ष बालकृष्ण थपलियाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन नेपाल पूर्व प्रहरी संगठन मेचीनगरका सचिव लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।
सो कार्यक्रमको उद्घाटनका क्रममा ओम कारेश्वर संस्कृत गुरुकूल ज्यामिरगढीका बटुकहरु जीवन सुवेदी र निश्चल तिम्सिनाले स्वस्ती वाचन गरेका थिए । वि.स. १९९८ मंसिर १४ गते जन्मिएकी चन्द्रमाया तिवारीले डाँगीबारी स्वास्थ्य चौकी तथा प्रसूति सेवा केन्द्रको भवन निर्माणका लागि एक करोड रुपैयाँ मूल्य बराबरको ७ कठ्ठा जग्गा दान गरेकी थिइन् ।
त्यस्तै, सो अस्पतालमा पहिलो प्रसूति गराउनेलाई ५ हजार रुपैयाँ प्रदान गरेकी उनले अन्य सबैलाई हौसला पुरस्कारस्वरुप जनही ५ सय रुपैयाँ प्रदान गर्दै आएकी छन् । तिवारीले सोही स्वास्थ्य चौकीका लागि बाफ लिने मेशिन (नेबुलाइजर) लगायत आवश्यक अन्य उपयोगी स्वास्थ्य सामाग्री उपलब्ध गराएकी छन् ।
धार्मिक व्यक्तित्व उनले मेचीनगर–९ स्थित स्वबोध साधना केन्द्र (बाल आश्रम) मा आश्रित अनाथ एवँ असहाय बालबालिकाका लागि नगद तथा जिन्सी सहयोग गरेकी छन् । झापाका विद्यालय, मठमन्दिर, रामघाटलगायत विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भई वयोवृद्धा तिवारीले आर्थिक सहयोग प्रदान गर्दै आएकी छन् ।
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

